काठमाडौं । विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी भएको प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । अपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा दर्ता गराएको हो ।
मुद्दामा पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल भनिने रेशम महरा, चिनियाँ नागरिक दाओजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल, थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङ र फरार बौद्धकी निमा गुरुङलाई प्रतिवादी बनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो । जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो । भेप साटफेर भएको थाहा पाएपछि खोजबिन गर्दा बरामद भएको भेपमा करिब ९ किलो सुन भेटिएको र त्यसलाई बिक्री गरेको खुलेको हो ।
