२०८३ असार १८, बिहिबार
  • Pramesh Tamu ४ घण्टा अगाडि

काठमाडौं । सरकारले महिलाहरूको सुरक्षित र निःशुल्क सार्वजनिक यात्रालाई प्राथमिकता दिँदै काठमाडौं उपत्यकामा ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो चरणमा नेपाल सरकारको स्वामित्वमा रहेको साझा यातायातका ८ वटा बसलाई ब्लु बसमा रूपान्तरण गरी सञ्चालनमा ल्याइने भएको हो।

सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी सय बुँदे कार्ययोजना अन्तर्गत महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने नीति लिएको छ। कार्ययोजनाको ९७औँ बुँदामा पहिलो चरणमा सय दिनभित्र २५ वटा ब्लु बस सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ।

काठमाडौं उपत्यकामा पहिलो चरणमा सञ्चालन हुने ८ वटा ब्लु बसमध्ये चार वटा रिङरोड रुट, दुई वटा लगनखेल–बुढानीलकण्ठ रुट तथा दुई वटा एयरपोर्ट–नागढुंगा रुट मा सञ्चालन गरिने योजना रहेको छ।

सरकारका अनुसार ब्लु बस सेवाको उद्देश्य महिलाहरूलाई सुरक्षित, सहज र निःशुल्क सार्वजनिक यातायात उपलब्ध गराउनु हो।

यद्यपि, नेपाल सरकारको मातहतमा रहेको साझा यातायातका बसहरूलाई ‘ब्लु बस’ मा रूपान्तरण गर्ने निर्णयलाई लिएर विभिन्न राजनीतिक टिप्पणीसमेत हुन थालेका छन्। केहीले यसलाई स्थानीय सरकारको कार्यक्रमसँग जोडेर राजनीतिक दृष्टिकोणबाट व्याख्या गरिरहेका छन् भने सरकारले भने यसलाई महिला सुरक्षा र सार्वजनिक सेवा सुधारको योजनाका रूपमा प्रस्तुत गरेको छ।

फेसबुक प्रतिक्रियाहरु