२०८२ बैशाख ८, सोमवार
  • Pramesh Tamu २६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्ने भएको छ।

नेकपाले बिहीबार विज्ञप्ति निकाल्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो। पार्टी कार्तिक २५ देखि ३० गतेसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।  नेकपाले देशभर विरोध प्रदर्शन, मसाल जुलुस, चक्का जामदेखि नेपाल बन्द गर्नेसम्मको विरोधका कार्यक्रम सार्वजनिक गरेको हो।

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएर १ हजार ५ सय ७५ पुर्‍याएको थि। यससँगै बुधबार मध्यरातिदेखि पेट्रोल, डिजेल/मट्टीतेलको मूल्यसमेत प्रतिलिटर ३–३ रुपैयाँले बढेको छ ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार प्रतिलिटर पेट्रोल १ सय ३६, डिजेल १ सय १९ र मट्टीतेल १ सय १९ रुपैयाँ पुगेको छ। आन्तरिक हवाई इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर बढेको छ। आन्तरिक हवाई इन्धन प्रतिलिटर १ सय १ र बाह्य हवाई इन्धन प्रतिकिलोलिटर ८ सय ९५ अमेरिकी डलर पुगेको छ।

सरकारले इन्धनमा अत्यधिक कर उठाउने गरेको छ। जसकारण इन्धन र ग्यासमा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन्। तर, त्यसरी उठाइने राजस्वको सदुपयोग नभएको पाइन्छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य निरन्तर बढिरहेकाले कात्तिक ३० पछि पनि मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।

फेसबुक प्रतिक्रियाहरु