नेकपा एमाले विभाजित असर अहिले प्रदेसहरुमा पर्न थालेको छ । अहिले ७ प्रदेश मध्ये प्रदेश नम्बर २ मा एमाले विभाजित भएपछि केपी शर्मा ओली समूहलाई व्यापक क्षति भएको छ । प्रदेश नम्बर २ मा नेपाल पक्ष मजबुत अवस्थामा छ भने ओली समूह अल्पमतमा परेको छ ।
प्रदेस सभामा एमालेका २१ जना प्रदेशसभा सदस्यहरु छन् । जसमध्ये नेपाल पक्षमा १३ जना प्रदेशसभा सदस्य खुलेर लागेका छन् भने ओली पक्षमा ८ जना प्रदेशसभा सदस्य रहेका छन् ।
प्रदेश सभामा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरु मध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु माधव पक्षमा छन् भने ओली पक्षमा सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारेन देवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद रहेका छन् ।
त्यस्तै प्रदेश नम्बर २ मा एमालेका ३२ जना केन्द्रीय सदस्य छन् । ती केन्द्रीय सदस्यहरू समेत विभाजित भएका छन् । ३२ जना मध्ये दुवै पक्षमा १६÷१६ जना केन्द्रीय सदस्य छन् । एमालेको प्रदेश कमिटीमा भने माधव समूह बहुमत छ । एमालेको १ सय सदस्यीय प्रदेश कमिटीमा ६० जना माधव पक्षमा छन् भने ४० जना ओली समूहमा छन् ।
त्यस्तै प्रदेश नम्बर २ को ८ वटै जिल्लाहरूमध्ये ६ वटा जिल्लामा नेपाल पक्षको अवस्था निकै मजबुत स्थिति रहेको नेकपा एमाले समाजवादीको दाबी छ । ५ वटा जिल्लामा नेपाल पक्ष जिल्ला कमिटीको नेतृत्व नै गरिरहेको छ । यसरी हेर्दा माधवकुमार नेपालको नेतृत्वमा रहेको एमाले समाजवादीको अवस्था प्रदेश नम्बर २ मा बलियो छ ।