२०८१ फाल्गुन १४, बुधबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं : नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहले चैत ४ गते राष्ट्रिय भेला गर्ने भएको छ । शुक्रबार साँझ नयाँबानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । भेलाले पार्टी पुनर्संरचनाको अभियान अगाडि बढाउने नेताहरुले बताएका छन् । 

अध्यक्ष केपी ओलीले बालुवाटारमा आफ्नो समूहको बैठक राखेर अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने निर्णय गरे लगत्तै एमाले नेपाल समूहले यस्तो निर्णय गरेको हो ।

‘चैत ४ गते राष्ट्रिय भेला हुनेछ’, बैठकपछि अन्नपूर्णसँग कुरा गर्दै नेता बेदुराम भुसालले भने, ‘सोही दिन पार्टी पुनर्संरचनाको अभियान घोषणाको तयारी छ ।’ उनले समानान्तर कमिटीसमेत गठन हुने बताएका छन् । हरेक जिल्लामा नेतृत्व चयन गर्ने उनको भनाइ छ ।

ओलीले विधान विपरित निर्णय गरेको  निष्कर्ष 

नेपाल र खनाल समूहले  ओलीले विधान विपरित निर्णय गरेको  निष्कर्ष निकालेको छ। साँझ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल–खनाल पक्षको आकस्मिक स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

‘शुक्रबार बालुवाटारमा भएको ओली समूहको भेला विधि विपरितको बैठक हो’, बैठकपछि नेता रघुजी पन्तले भने, ‘यसलाई मानिदैन।’ पन्तले ओलीले आफूलाई इच्छा लागेका मान्छेलाई भेला गरेर निर्णय गर्दा त्यसलाई केन्द्रीय कमिटी मान्न नसक्ने बताए।

‘यो पर्टीलाई विभाजन गर्ने काम हो। विधान विपरित छलफल भएको छ। यो सम्पूर्ण कुरा विधि विधान विपरित छ’, उनले प्रश्न गर्दै भने, ‘आफूलाई इच्छा लागेका मान्छे भेला गरेर भएका निर्णयलाई कसरी केन्द्रीय कमिटीका निर्णय मान्ने ?’

शुक्रबार बालुवाटार बैठकमा भएका निर्णयले महाधिवेशनको नीति निर्देशन उलंघन गरेको आरोप भीम रावलले लगाएका छन्। ‘यसले पार्टी अधिवेशनको नीति निर्देशन उलंघन गरेको छ’, रावलले भने।

सुरुमा नेकपा फुटाउने षड्यन्त्र गरेको र दुई पार्टीको एकता समाप्त भएपछि एमाले पार्टी फुटाउने सोचले काम गरेको देखिएको आरोपसमेत रावलले लगाए।

‘गुट भेला गरेर एमाले र माओवादी केन्द्रबीचको एकतालाई षड्यन्त्रपूर्वक समाप्त गरियो। त्यसपछि एमाले पार्टीलाई फुटाउने सोचले यो काम गरेको देखिन्छ’, रावलले भने, ‘विधान विपरितको कामको विरोध गर्छौँ र अस्वीकार गछौँ।

पार्टीलाई तहसनहस बनाएर राष्ट्रियता र स्वाधिनता अप्ठेरोमा पार्ने काम गरेको भन्दै यो विषयमा बैठकमा गम्भीर समीक्षा भएको रावलको भनाइ छ। उनले एमाले पार्टीका संस्थापक नेताको अपमान गरेर ओलीले कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाएको आरोपसमेत लगाएका छन्

‘पार्टीका संस्थापक नेतालाई अपमान गरेर केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाए’, उनले भने, ‘यो सबै उपलब्धि सिध्याउने खेल हो।’

एमाले विभाजित नहोस् भनेर लागिपर्दा गुटगत गतिविधि बढाएको भन्दै बैठकमा ओलीको चर्को आलोचनासमेत भएको छ।
‘एमाले विभाजित नहोस्, जनताका आकांक्षामाथि कुठाराघात नहोस् भनेर हामी एकताको पक्षमा लागेका थियौँ’, उनले थपे, ‘गुटगत गतिविधिले माक्सर्वादका सारा प्रक्रियालाई बिगारेको छ। एमाले कसरी जोगाउने भनेर हामी छलफल गर्दैछौँ।’

 

फेसबुक प्रतिक्रियाहरु