संसद विघटनविरूद्ध नागरिक अगुवाहरूले प्रज्ञा प्रतिष्ठान डबलीमा मंगलबार विरोध सभा गर्ने भएका छन्। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा सुरू भएको वृहत् नागरिक आन्दोलनले ‘नागरिक सभा’ गर्न लागेको हो।
मंगलबार दिउँसो २ बजे आयोजना हुने ‘नागरिक सभा’मा नागरिक अगुवाहरूले सम्बोधन गर्ने आन्दोलनका संयोजक युग पाठकले बताए। सभामा नागरिक अगुवा कृष्ण पहाडी, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठ, डा. मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठलाई वक्ता राखिएको छ।
संसद विघटनपछि विभिन्न तह-तप्काका अभियन्ताहरूले ५४ सदस्यीय नागरिक आन्दोलन गठन गरेका थिए। २०६२/६३ को जनआन्दोलनताका पेशागत संघ-संगठन शाही कदमको विरोध गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आन्दोलनमा निस्केका थिए।
यसपटक प्रधानमन्त्री ओलीले सोही राजा ज्ञानेन्द्रकै शैलीमा प्रतिनिधि सभा विघटन गरी ‘प्रतिगमन’तर्फ मुलुकलाई अग्रसर गराएको अगुवाहरूको बुझाइ छ।