काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको बताएका छन् । पार्टी भित्र पछिल्लो समय बढिरहेको विवादको बारेमा स्पष्ट पार्दै दाहालले उक्त कुरा बताएको हो ।
कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा च्यासलमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पार्टीभित्रको बहसलाई अस्वस्थ बनाइएकाले बाहिर नकारात्मक प्रभाव परेको पनि बताए । ‘पार्टीभित्र चलेको बहसलाई नेतृत्वको पद प्राप्तिका लागि छिनाझपटी हो भन्ने प्रचार गरिएको छ पदको छिनाझपटी होइन । यो पार्टीलाई कसरी अगाडि बढाउने ? पार्टीको विचार, मान्यता, विधि, पद्दति कस्तो हुनुपर्छ भन्ने बहस हो,’ उनले भने ।
आफूले पार्टी एकता गर्नुपूर्व नै राष्ट्रका लागि भनेर पद त्याग गरेर अगाडि बढेको बताउँदै उनले अहिले नेकपाले स्थायित्व दिनुपर्ने बेला आएको बताए । ‘पद होइन राष्ट्रको सेवा मुख्य कुरा हो । पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने, स्थायित्व दिने जिम्मेवारी हो भनेर अस्थिरता झल्किने कुनै पनि काम नहोस् भन्नको निम्ती त्याग गर्दै आएका छौं,’ दाहालको भनाइ थियो ।
पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको, पार्टी एकताको रक्षा गर्नका लागि नेताहरू बहसमा रहेको पनि बताए । पार्टी एकताका नाममा मुलुकका विभिन्न मुदा र पार्टीको विचारबारे बहस गर्नै हुन्न भन्ने मान्यता राख्न नहुने उनको भनाइ थियो । ‘पार्टी एकतालाई यो बहसले अझ माथिल्लो स्तरमा लगेर सुदृढ गर्नेछ । पार्टीलाई टुटाउने, फुटाउने सबै खालका प्रवृति परास्त हुनुपर्छ, परास्त गरिनुपर्छ । यो सबै एकताबाट हुने हो,’ उनले भने, ‘इतिहासका तितामिठा अनुभवहरूबाट शिक्षा लिएर जनता, कार्यकर्ताको चाहना पार्टी विभाजित नहोस् भन्ने छ । एकता अक्षुण्ण राख्ने नाममा विभिन्न मुद्दा र विचारको बहस ढाकछोप हुनुहुँदैन । तिनको फर्छ्यौट ठीक ढंगले गरिनुपर्दछ भन्नेमा हामी सचेत छौं ।’
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सहभागी कार्यक्रममा दाहालले पार्टी एकताको तीन वर्षमै विभाजन हुने हो कि भन्ने चिन्ता पैदा भएको बताए ।