सिरहा, २ असार । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई भारत प्रवेशमा रोक लगाईएको छ । उनी मंगलवार सिरहाको ठाड़ी नाका हुँदै भारत प्रवेश गर्न खोज्दा उनलाई नाका नजिकै रोकिएको हो ।
सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले भारत प्रवेश गर्नबाट रोक लगाउँदै नेपाल तर्फ फर्काइदिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सीमा सुरक्षामा खटिएका सुरक्षा स्रोतका अनुसार भारत तर्फ प्रवेश गर्न गिरीले निकै प्रयास गरेपनि सफल नभएपछि लहानतर्फ फर्किएकी थिइन् ।
चालक र गाडीसहित गिरी मंगलवार दिउँसो तीन बजे सिरहाको मुख्य नाका ठाड़ीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । तर, लकडाउनको समयमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा अनुमति नरहेको भन्दै सुरक्षाकर्मीले फर्काएको थियो ।
गिरीको ससुराली घर सिरहाको लहान नगरपालिका १४ स्थित बस्तीपुरमा रहेको र माइती घर भारत तर्फ रहेको छ। गिरी नाकामा रोकिएपछि लहान फर्किएकी थिइन् । नेपालको नयाँ नक्सासहितको निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर गिरी विवादमा आएकी थिइन् ।
उनले प्रस्तावबारे मतदान समेत गरिनन् । गिरीले लिपुलेक नेपालको होइन भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि स्वयंको उनको दल मात्र नभई आम नेपालीबीच आलोचित बनेकी छि ।
यसरी राष्ट्रघाती अभिव्यक्ति दिइएको भन्दै सांसद तथा जनता समाजवादी पार्टीको साधारण सदस्य समेतबाट निष्कासन गर्ने तयारी गरिरहेको बताइएको छ ।-न्यूज२४