काठमाडौं : नेपालमा अहिले सम्मकै उच्च थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।
हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
जसमा महोत्तरीका २ जना रहेका छन् । यस्तै जुम्ला स्थायी ठेगाना भइ बारामा कार्यरत २ जना, बाराकै ३ जनामा संक्रमण देखिएको छ । रौतहटका २१, सिरहाका ५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । एक जना जनकपुर अस्पतालमा उपचाररत धनुषाका पुरुषको पनि पोजेटिभ रिपोर्ट आएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा २ वर्षिय बालिका पनि छन् । रुपन्देहीको प्रादेशिक अस्पतालमा कपिलवस्तुकै ७ जनामा संक्रमण देखिएको छ । यस्तै अर्घाखाँचीका २, गुल्मीका २ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका १ र अछामका १ जनामा संक्रमण पोजेटिभ देखिएको हो ।
पोखरामा भएको परीक्षणमा स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको छ । सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए ।
पीसीआर विधिबाट ५४ हजार ४ सय २४ नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ९७ हजार ९ सय ६७ जनाको नमुना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७ सय ८२ र आरडिटी विधिबाट २ हजार ७ सय ७५ जनाको नमुना परीक्षण गरिएको छ ।