हिलेपानी, ओखलढुङ्गा । २०७७ जेष्ठ २ शुक्रवार । लक्डाउनैकै समयमा पनि दुधकोशी किनार स्थित व्याकुल माइला गोल्डकप मैदानको विस्तार एवं दर्शकदीर्घा बनाउने कार्य भएको छ ।
सङ्घीय सांसद मा. यज्ञराज सुनुवारले संसद क्षेत्र विकास कोष अन्तर्गत चालू आ.व. २०७६/०७७ मा रु. १० लाख बजेट विनियोजन गरिदिनु भएको थियो ।
गोल्डकपका आयोजक संस्था नयाँ नेपाल सरोकार समाजका सचिव नवीनकुमार राईको अग्रसरतामा पहिलो किस्ताको रकम निकासा गरेर काम थाल्दै गर्दा कोरोनाको विश्वव्यापी सङ्क्रमणले सबैलाई आतङ्कित पारी अन्यौलग्रस्त परिस्थिति सिर्जना भयो । तर, त्यस्तो परिस्थितिमा समेत खेल र विकासप्रेमी पौरखी स्थानीय युवाहरू काममा जुटे । कोशी किनारको टन्टलापुर घाम र कोरोनाको सङ्क्रमणको कुनै पर्वाह नगरी प्राप्त विकासको अवसरलाई सदुपयोग गर्न दृढतापूर्वक जुटे ।
“लकडाउन सुरु भएको केही दिनपछि गाउँपालिकाका पदाधिकारीहरू आएर स्थगित गर्न लाउनु भएको थियो तर सिमेन्ट लगायतका निर्माण समाग्री बिग्रनसक्ने भएकोले केही दिन रोकिएर फेरि काम थालियो । त्यसैले अहिले गोल्डकप मैदानको रूप फेरिएको छ ” नयाँ नेपाल सरोकार समाजका अध्यक्ष रक्षमान राईले बताउनु भयो ।
यस कुनाकन्दरामा यतिको विकास योजना पर्दा पनि आश्चर्य मान्नु पर्ने अवस्था छ । युवा वर्गलाई सम्बोधन गर्ने कार्यक्रम भएकोले प्राप्त यस कार्यक्रमलाई सफल पार्न युवाहरू उत्साहपूर्वक श्रमदानमा जुटी लक्ष्यभन्दा बढी कार्य सम्पन्न गरेका छन् ।
यस मैदानमा स्थानीय युवाहरूले फुटबल खेल्न र सिक्नका साथै वि.सं. २०६८ सालदेखि बर्षेनी व्याकुल माइला गोल्डकपको आयोजना गर्दै आएका छन् ।