२०८१ फाल्गुन १३, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

रमेश (नाम परिवर्तन)को दैनिकी बिहान ६ बजेबाट सुरु हुन्छ । आजभोलि विश्व नै लकडाउनमा बसेको अवस्थामा खासै केही छैन उनको पनि दैनिकीमा । तर पनि दिन धेरै लामा लाग्छ । चैत-वैशाखका दिन नै उराठलाग्दा नै हुन्छन् । त्यसमाथि अस्पतालको बसाइ झन् उराठलाग्दा नहुने कुरा भएन ।

अस्पतालको आइसोलेसनमा बस्नुपर्दा झनै उराठ लागिरहेको छ उनलाई । उनका दिनहरू त बितिरहेका छन् तर कसरी ? उनी आफैँलाई थाहा छैन । अलिक टाढाबाट ठोक्किन आउने कोइलीको आवाजले मन झनै विरक्तिन्छ । तर, धैर्य गर्नुको विकल्प उनीसँग छैन ।

यहीबीचमा विसु (नयाँ वर्ष) आयो । गयो । केही रमाइलो भएन । उनी पनि अवस्था सामान्य भए विसु (नयाँ वर्ष) मनाउन चाहन्थे तर समयले उनलाई अस्पतालको आइसोलेसन बेडमा पुर्‍याइदियो । त्यही भएर त भनिन्छ, समय बलवान् हुन्छ । उनको हकमा पनि त्यही समय बलवान् भएर आइदियो ।

उनी अहिले सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा बसेका छन् । केलालीको लम्की चुहा नगरपालिका घर आएर विसु मनाउने र घर परिवारसँग बस्ने रहर बोकेर उनी गत ८ फागुनमा भारतको मुम्बईबाट बसमा आएका थिए । बसले नै नेपाल-भारत सीमा गौरीफन्टा पुर्‍याउन ३ दिन लगायो । अथवा उनी १० फागुनमा गौरीफन्टा पुगेका थिए ।

उनले सोचेका थिए, ‘गौरीफन्टा पुगेपछि आज नै घर पुग्छु ।’ तर, यो ३ दिनमा नेपाल र भारतमा धेरै परिवर्तन भएको थियो । उनी मुम्बईबाट हिँड्दा भारतमा लकडाउन थिएन तर दोस्रो दिन लकडाउन भयो । १० फागुनमा धनगढीमा प्रशासनले कर्फ्यू लगायो । मानिसको अत्यधिक चापका कारण १० फागुनमा कर्फ्यू लगाउँदा उनीलगायतका धेरै मानिस बोर्डरमा नै बस्न बाध्य भए ।

उनीहरू बस्न मात्र बाध्य भएनन्, नेपाल छिर्न १८ घण्टा आन्दोलन नै गरे । त्यही आन्दोलनका हिस्सा बने उनी पनि । बल्लबल्ल सरकारले नेपाल ल्यायो उनीलगायतलाई । उनीहरूको सामान्य ज्वरोको चेक भयो । सामान्य देखायो । उनीलगायत भारतबाट आएका मानिस बोकेर बस टीकापुरका लागि गुड्यो ।

उनी बिहान घर पुगे । धारोमा नुहाए । झोला घरबाहिर नै राख्न लगाइन् उनकी आमाले । उनी भन्छन्, ‘धेरै दु:ख गरेर घर पुगेँ । धारामा नुहाउँदै थिएँ, गाउँकै नयनराज टमटा आएर नुहाएर क्वारेन्टाइन बस्नुपर्छ, घरभित्र बस्ने होइन, आऊ भने । म पनि नुहाएर खाना नै नखाई क्वारेन्टाइन बस्न गएँ । खाना त्यहीँ खाएँ ।’

क्वारेन्टाइनमा बसेकाको परीक्षण गरेको थियो । उनको रिपोर्ट पोजिटिभ आयो तर उनलाई कसैले पनि कोरोना लागेको भनेन । उनमा कोरोना पोजिटिभ आएको सूचना लम्की चुहा नगरपालिकामा रहेको प्रतापपुर स्वास्थ्य चौकीका इन्चार्ज करिसिंह भुललाई दियो सेती प्रादेशिक अस्पतालले ।

भुल भन्छन्, ‘१२ चैतबाट क्वारेन्टाइन बसेका थिए । १९ गते स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो । २१ गते रिपोर्ट आएको थियो । त्यही दिन मैले एम्बुलेन्समा राखिदिएर सेती प्रादेशिक अस्पताल पठाएको हुँ ।’

रमेश भन्छन्, ‘क्वारेन्टाइनमा बसेको थिएँ । मलाई केही भएको थिएन तर डाक्टर आएर फेरि चेक गर्नुपर्ने भयो, धनगढी जानुपर्ने भयो भनेर एम्बुलेन्समा बस्न भने । यहाँ आएर बसेपछि एफएम सुनेर थाहा भयो मलाई कोरोना संक्रमण भएको ।’

उनी आफूले ढिला र पहिला एफएमले कोरोना भएको थाहा पाएकामा नराम्रो लागेको बताउँछन् । ‘बिरामीभन्दा पहिला एफएमलाई भन्दा रहेछन् । यस्तो चलन रहेछ यहाँ’, उनले गुनासो गरे ।

उनी मुम्बई बस्न थालेको ८ वर्ष भयो । विश्वभर कोरोनाको महामारी फैलिन सुरु भएको थियो । उनलाई पनि उनकी आमाले घर आउन भनिन् । आमाको बचन नाइँ भन्न सकेनन् । यहाँ के हो के, घर जाँदा बढी सुरक्षित हुन्छु लागेको थियो उनलाई पनि ।

भन्छन्, ‘आमाले फोन गर्नुभयो- कोरोना फैलिँदै छ, आऊ घर, यहीँ बसौँला भन्नुभयो । घर आएँ । घरभित्र पस्न नपाउँदै क्वारेन्टाइन बसेँ । त्यहीँबाट यहाँ आएको छु ।’

उनी भने आफूलाई केही पनि भएजस्तो नलागेको बताउँछन् । उनी भन्छन्, ‘मलाई त केही पनि भएको छैन तर यहाँ कोरोना भाइरसको संक्रमण भएको छ भन्छन् । मलाई त ज्वरो आउँदैन । खोकी पनि लाग्दैन अनि कसरी कोरोना भयो, केही थाहा छैन ।’

बिरामी भनेपछि मन कस्तोकस्तो हुन्छ नै । त्यसमा पनि विश्वभर महामारी बनेको कोरोनाका कारण अस्पतालमा बस्दा दिक्क लाग्छ तर के गर्नु नबसेर ?

‘दिनभर कोठामा बस्छु । फिल्म हेर्छु । साथीहरूसँग कुरा गर्छु । घर परिवारसँग कुरा गर्छु । दिन बिताउन साह्रै गाह्रो हुन्छ’, उदास हुँदै भन्छन् उनी ।

उपचारमा कुनै पनि कमी नभएको, डाक्टर र नर्सले आफूलाई माया गर्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘खाना खुवाउने, औषधि खुवाउनेदेखि सबै कुरामा राम्रो हेरविचार गर्नुहुन्छ । नडराऊ, राम्रो हुन्छ भन्नुहुन्छ । खुसी लाग्छ । जे हुनु भइहाल्यो, अब डराएर पनि केही हुँदैन ।’

उनको मन बुझाउने सबैभन्दा ठूलो आधार अस्पतालका डाक्टर, नर्स र घर परिवार अनि साथीभाइ भएका छन् । भन्छन्, ‘सबैले केही हुन्न भन्छन् र मन बुझ्छ । सुरुसुरुमा त कस्तो भयो कस्तो । धेरै नराम्रो लाग्यो ।’

त्यही भएर उनी अहिले पनि समाचार हेर्दैनन् । सुन्दैनन् । समाचार हेरे, सुने झन् मनमा पीडा हुन्छ । त्यही भएर अनलाइन पनि पढ्दैनन् । एफएम पनि सुन्दैनन् । उनी भन्छन्, ‘यहाँबाट सन्चो भएर घर कहिले जाऊँला जस्तो भएको छ ।’

अस्पतालमा ५ जना टाढाटाढाबाट कुराकानी गर्छन् । सबै एकअर्काका दु:ख सुखका कुराकानी सुन्छन् । यही दिन कटाउने मेसो भएको छ । अस्पतालले आइसोलेसन वार्डमा वाइफाई जोडिदिएको छ । त्यही भएर पनि सबै बिरामीलाई दिन कटाउन सहज हुन्छ ।

उनी भन्छन्, ‘सबै जना कुराकानी गर्छौं । दिन त बिताउनै पर्‍यो । चित्त पनि बुझ्छ । समय कटाउन हिन्दी फिल्म हेर्छु नेपाली त्यति बुझ्दिनँ । समय कटाउन हुन्छ ।’

लकडाउनका कारण घरका मानिस पनि भेट्न जान पाउँदैनन् । फ‍ोनेमा दिनमा ३-४ चोटि कुरा गर्छन् । आमाबुबा, दाजुहरूले दिनदिनै फोन गर्छन् । साथीभाइले पनि फोन गर्छन् ।

‘दिन त बित्छ तर सहज रूपमा होइन, पीडा र मनको छट्पटाहटमा’, उनी भन्छन् ।

यो सामाग्री शिलापत्रबाट सभार गरेका हौ ।”

फेसबुक प्रतिक्रियाहरु