कोरोना संक्रमण फैलिन नदिन अहिले धेरै देश लकडाउनमा छन्, सार्वजनिक स्थानमा भेला/समारोह ठप्प छन्। तर मध्य एसियाको मुलुक तुर्केमेनिस्तानको अवस्था फरक छ। मंगलबार सो देशमा साइकल र्याली निकालेर विश्व स्वास्थ्य दिवस मनाइएको छ। कोरोनाका कारण विश्व ठप्प भएका बेला यस्तो दृश्यले धेरैलाई अचम्मित बनाएको छ।
कोरोना भाइरसबाट विश्वका २ सय ११ देश चपेटामा परेका भए पनि तुर्केमेनिस्तानमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन। त्यहाँको सरकारले दाबी गरेको छ- तुर्केमेनिस्तानमा एक जना पनि कोरोना संक्रमित छैनन्।
तुर्क स्वास्थ्य प्रणालीको अध्ययन गरिरहेका लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक मार्टिन मेक्की सो देशमा कोरोना संक्रमित नभएको विषयमा विश्वास गर्दैनन्। भन्छन्, ‘तुर्केमेनिस्तानले आधिकारिक भनेर जारी गरेका तथ्यांकमा भरोसा गर्न सकिँदैन।’ सरकारले सत्यलाई लुकाइरहेको हुनसक्ने विशेषज्ञहरु बताउँछन्।
‘एक दशक अगाडि उनीहरुले एचआइभी/एड्स संक्रमित कोही नभएको दाबी गरेका थिए। त्यो साँचो सावित भएन। यो आँकडा पनि भरोसा योग्य छैन। सन् २००० मा उनीहरुले प्लेगका कैयौं रोगीहरुको अवस्था लुकाएकोबारे हामी जानकार छौं’, मार्टिन भन्छन्। सरकार कोरोना संक्रमित छैनन् भने पनि यसबारे जनमानसमा ठूलो त्रास छ। यसको अर्थ पहिलैदेखि संक्रमित रहेको हुनसक्छ। तुर्केमेनिस्तान राजधानी अस्गवादमा मंगलबार निकालिएको साइकल र्याली। तस्विर: एएफपी