अर्जुन जम्नेली राई
मोरङ । मोरङको विराटनगर अस्पतालले उपचार खर्च तिर्न नसकेको बिरामीको शव फोहोरमैला राख्ने स्थलमा फालेर अमानवीय व्यवहार देखाएकाे छ ।
मोरङकाे पथरीशनिश्चरे नगरपालिका-१० का २७ वर्षीय दीपक लिम्बूलाई छिमेकी तीनजनाले पिटेर घाइते भएपछि विराटनगर अस्पतालमा उपचार गराउँदा गराउँदै हिजो (चैत १३ गते) बिहान ६ बजे मृत्यु भएको थियो । सात दिनकाे उपचारमा औषधी र ल्याप बाहेक अस्पतालले उपचार खर्च ३ लाख ८० हजारकाे बिल उठाएको छ ।
आर्थिक अवस्था कमजोर भएको कारण अस्पतालको बिल तिर्न नसक्दा दीपक लिम्बूको शव २ दिनदेखि घामले भेट्ने ठाउँमा फालिदिएको मृतककी बहिनी मनु लिम्बूले बताइन् । अस्पतालमा जानासाथ पैसा तिर्न हप्कीदप्की हुनथालेपछि मनु भने अस्पताल परिसरभन्दा बाहिरै बस्दै आएकी छन् ।
उनलाई भित्र पस्नासाथ अपमानित शब्द प्रयोग गरिन्छ । आज बिहान ज्वाइँ गंगाबहादुर लिम्बूलाई हेर्न पठाउदा दाजु दीपकको शव बाहिर फालिएको अवस्थामा रहेको पाइएकाे हाे ।
मनुले भनिन्,”बरु कुकुर, बिरालोको मरण सम्मानजनक होला । मेरो दाईको अनुहार हेर्न पाउनु त कता हो कता बाहिर फालिदिएको रहेछ ।”
अस्पतालले यसअघि पनि पैसा नतिरे सडक फालिदिने धम्की दिएको मनुले सुनाइन् । नकुहोस भनेर शव राख्ने ठाउँमा राख्दिनुस् भन्दा छैन भनेर हप्काइएको उनले बताइन् ।
उपचार खर्च तिरेर शव निकाल्नका लागि हाल सुमन कुरुम्बाङ, गणेश थक्लुङ, जीवन खतिवडा, प्रेम ढकाल, केशव कुरुङ्बाङ, बसन्त मादेन, वीरबहादुर बस्नेत लगायतकाे टोली खटेकाे छ ।
दीपकको शव फालिएको बारेमा अस्पताल संचालक डा. ज्ञानेन्द्र गिरीलाई सम्पर्क गर्दा प्रशासन अधिकृत सुवाष पोख्रेललाई भनिदिने बताए । पोख्रेलको नम्बरमा भने फोन सम्पर्क हुन सकेन ।
यसरी मृतक शव फालिएको दीपक लिम्बूको घर संघीय स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निर्वाचन जितेको मोरङ-३ मा पर्दछ । स्वास्थ्यमन्त्री भएको क्षेत्रमा पैसा तिर्न नसकेकै कारण शव फालिनु दुखद बिषय हो ।
दीपकलाई कुट्ने मुस्कान राई बाहेक अरु दुई जनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्रन सकेकाे छैन ।
मनुलाई दाजु कुटिएर मारिनुको पीडा त छँदैछ, शव शवगृहमा नराखी फालीदिएर अस्पतालले थप पीडा दिएको छ ।