सोल — दक्षिण कोरियाले कोरोना भाइरस(कोभिड–१९)विरुद्ध ‘युद्ध’ सुरु भएको घोषणा गरेको छ । चीनबाहिर सबैभन्दा बढी करिब ५ हजारमा कोरोना संक्रमण भएपछि दक्षिण कोरियाले कोभिड–१९ विरुद्धको लडाइँ सुरु भएको घोषणा गरेको हो ।
साथै विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडानोम गेहब्रेयससले कोभिड–१९ को प्रकोपका कारण पूरा विश्व नै नक्सारहित भएको बताएका छन्। उनले भाइरस नयाँ भए पनि उपयुक्त कदम चालेमा प्रकोपमाथि नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरेका छन्। यसको नियन्त्रणका लागि कुनै एउटा बाटो मात्र नभएको उल्लेख गर्दै पूरा विश्व एक ठाउँमा उभिनुपर्ने उनले बताए।
मंगलबार बिहानसम्म विश्वका ७६ देशमा कोभिड–१९ को संक्रमण देखिएको छ। मंगलबार बिहानसम्म ९० हजार ९ सय ३३ जनामा यसको संक्रमण देखिएको छ भने ३ हजार एक सय १९ जनाको मृत्यु भइसकेको छ।दक्षिण कोरियामा मंगलबार बिहानसम्म ४ हजार ८ सय १२ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ भने २८ जनाको मृत्यु भएको छ। दक्षिण कोरियामा सबैभन्दा बढी असर दक्षिणपूर्वी सहर थेगुमा देखिएको छ।दक्षिण कोरियाली राष्ट्रपति मून जेई इनले अहिले देशले कोभिड–१९ विरुद्ध युद्ध लडिरहेको बताएका छन्।
कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले २५ अर्ब अमेरिकी डलर छुट्याउने पनि उनले घोषणा गरेका छन्। ‘थेगुमा र उत्तरीख्यङ्गसाङ प्रान्तको संकट उचाइमा पुगेको छ। अब मुलुक घातक रोगविरुद्धको युद्धमा प्रवेश गरेको छ,’ राष्ट्रपति इनले भने।उनले सबै सरकारी संगठनलाई ‘२४ घण्टा आपतकालीन सेवासहितको प्रणाली’ मा विकास गर्न निर्देशन दिएका छन्।