लन्डन — लामो अन्योल, राजनीतिक उतारचढाव र विभाजनपछि अन्ततः बेलायत ईयूबाट औपचारिक रुपमा अलग्गिएको छ । ब्रिटिस जनताले ईयूबाट अलग्गिने पक्षमा मतदान गरेको एक हजार ३ सय १८ दिनपछि बेलायत शुक्रबार राति ११ बजेदेखि ईयूबाट छुटिट्एको हो । गत २३ जुन, २०१६ मा भएको ईयू जनमत संग्रहमा ५१ दशमलव ९ प्रतिशत जनताले अलग्गिने पक्षमा मत हालेका थिए ।

बेलायत र ईयूबीचको ४७ वर्षदेखिको सम्बन्ध अबऔपचारिक रुपमा विच्छेद भएको छ। ईयू इतिहासमा अहिलेसम्म कुनै पनि सदस्य राष्ट्रको बहिर्गमन भएको थिएन्। सन् १९७३, १ जनवरीदेखि युरोपियन क्लब प्रवेश गरेको ब्रिटेन १७ हजार १९७ दिनपछि शुक्रबार बाहिरिएको हो।
बेलायतले शुक्रबार विशेष कार्यक्रमसहित ईयूलाई बिदाइ गरेको छ। प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो कार्यालय टेन डाउनिङ स्ट्रिटमा लेजर शो आयोजना गरे। उनले ह्वाइट हलमा दीप प्रज्ज्वलन गर्नुका साथै छुट्टिनुअघि देशवासीका नाममा टेलिभिजनबाट विशेष सम्बोधन गरेका थिए। उनले आफ्नो सम्बोधनमा ब्रेक्जिटलाई एउटा ‘नयाँ बिहानी’ भनेका छन्।
‘आजको रात भन्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो अन्त्य होइन, यो सुरुवात हो,’ एउटा भिडियो सन्देशमा उनले भने, ‘यो बिहानी प्रहर खुल्ने क्षण हो र नयाँ भूमिकामा पर्दा खुल्नेछ। यो क्षण साँचो रूपमा राष्ट्रिय नयाँपन र परिवर्तनको हो।’
ब्रेक्जिट डेका अवसरमा लन्डनस्थित संसद भवन अगाडि यूकेका चारवटै राज्यको एकताको प्रदर्शन गर्दै संयुक्त अधिराज्यको राष्ट्रिय झण्डा युनियन ज्याक फहराइएको थियो। ब्रेक्जिट पक्षधरहरु दिउँसोदेखि मध्यरातसम्म झण्डा बोकेर नारा लगाइरहेका थिए।
पार्लियामेन्ट स्क्वायरमा खुसियाली मनाउँदै ब्रेक्जिट पक्षधर तस्बिर : रोयटर्स
पार्लियामेन्ट स्क्वायरमा आयोजित भव्य‘डिभोर्स पार्टी’मा हजारौं सहभागी भए।राति १० बजेदेखि प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा ‘काउन्ट डाउन’ घडी राखिएको थियो जहां रातो, सेतो र निलो रंगका बत्ती बलेका थिए। अन्य सरकारी भवनमा समेत दीप प्रज्ज्वलन गरियो। यद्यपि, संसद भवन छेउको ‘बिग बेन’ ध्वनी भने गुञ्जिएन। अहिले मर्मत भइरहेको उक्त भवनमा घण्टी बजाउन करिब ५ लाख पाउण्ड खर्च लाग्ने भएपछि यसलाई स्थगित गरिएको हो। सर्वसाधारणले सोका लागि क्राउड फण्डिङ क्याम्पियनबाट अढाइ लाख पाउण्ड संकलन गरेका थिए।