२०८१ बैशाख १५, शनिबार
  • Namaste Khabar २ महिना अगाडि

काठमाडौँ: कांग्रेससंगको सहकार्य टुटेसँगै  नयाँ सरकारका लागि नयाँ  गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ ।

एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउने भएको छ  ।

मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने समेत उनीहरुले  निर्णय गरेको  छ । ‘त्यसरी बाँडफाँट गर्दा मन्त्रालयहरुको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने’ सहमतिको तेस्रो बुँदामा भनिएको छ, ‘नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग सम्वाद अघि बढाउने ।’

साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अबिलम्ब टुंगाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने पनि चार दलबीच सहमति भएको छ ।

एमाले महासचिव शंकर पोखरेलले सुशासन र डेलिभरीलाई प्रभावकारी ढंगले सम्बोधन गर्ने र नयाँ आशा जगाउने उद्देश्यका साथ नयाँ गठबन्धन बनेको बताए ।

एकीकृत समाजवादी, लोसपा लगायतका दलहरुलाई समेत सरकारमा समेट्न प्रधानमन्त्रीले पहल थालेको भन्दै उनले भने, ‘तर सुशासन र डेलिभरीको पक्षमा सक्षम टिम बनोस् भन्ने चाहेका छौं ।’

रास्वापा उपसभापति स्वर्णीम वाग्लेले प्रधानमन्त्रीले नयाँ शिराबाट अगाडि बढ्न खोजेकाले निश्चित एजेण्डा बोकेर यो यो काम गर्ने भनेर सरकारमा सामेल भएको बताए ।

उनले भने, ‘त्यसअनुसार काम गर्न नसकेको दिन सरकार छाड्छौं । तर आश छ, दूरगामी दृष्टिकोण राखेर सहकार्य भएकाले त्यो दिन आउने छैन भन्ने विश्वास छ ।’

यसैगरी प्रचण्डले  माधव नेपाललाई पनि नयाँ गठबन्धनमा सामेल गराउन दौड धुप सुरु गरेको छ । यसअघि प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका नेपाल नयाँ समीकरण बन्दा आफूहरूलाई थाहा नदिएको भन्दै बेखुस छन् । एमाले माओवादी नयाँ गठबन्धन वामपन्थी एकताको प्रयास समेत भनिएकाले अध्यक्ष नेपाललाई पनि सँगै लैजानुपर्ने मत छ ।

यस्तो छ ८ बुदे सहमति 

फेसबुक प्रतिक्रियाहरु