काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ ।राप्रपाले बिहीबार हुने राष्ट्रपतीको निर्बाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो ।
राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि यो निर्णय आएको बताएको छ। राजसंस्था पुन:स्थापना मुख्य राजनीतिक ऐजेन्डा बनाउने दलले गणतन्त्रको प्रतीक मानिने राष्ट्रपतिमा मतदान गर्नु राजनीतिक कार्यदिशाभन्दा फरक हुने मत पार्टीभित्र प्रभावी भएपछि यो निर्णय आएको हो ।
यसअघि २०७४ सालमा भएको राष्ट्रपति निर्वाचनमा राप्रपाले एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मत हालेको थियो । त्यसबेला संघीय संसद्मा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन एक जनामात्रै सांसद थिए । त्यतिबेला भण्डारीलाई मत दिनुको कारणबारे विज्ञप्ति नै निकालेको थियो । तत्कालीन प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा लेखिएको थियो, ‘वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै बृहत्तर राष्ट्रिय हित, एकता र प्रजातन्त्रको संरक्षण संवर्द्धनको साथै सबै पक्षहरुको बीच संयोजनकारी भूमिकाको अपेक्षा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई मतदान गर्ने निर्णय गरेको छ ।’
नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम छ । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाहरूका सांसद मतदाता हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनका लागि मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा हुनेछ । राप्रपाको मतभार २ हजार ४५० रहेको छ । संघमा १४ र प्रदेशमा २८ सांसद छन् ।