बुटवल । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी छाडेर १५ भन्दा बढी नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्यद्वय यज्ञ पोखरेल, अतिउल्लाह मुसलमान लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेपाल समाजवादी पार्टीमा लाग्नुअघि मुसलमान जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष, पोखरेल मुख्य सचिव र लक्ष्मी यादव सचिव थिए । उनीहरुसंगै जसपा प्रदेश कमिटी सदस्य गीता श्रीवास्तव पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उनीहरुलाई माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनालले पार्टीमा स्वागत गरे । जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपा प्रदेश कमिटी सदस्य गीता श्रीवास्तवबाहेक अरु कोही पनि आफ्नो पार्टीका नेता- कार्यकर्ता नरहेको बताए ।
माओवादी प्रवेश गरेका पोखरेलले बाबुराम भट्टराईलाई लक्षित गरेर फेसबुकमा ‘कसैसंग गुनासो छैन, तपाईंहरुले देखाएको बाटोमा म अलि अगाडि लागेको मात्रै हो’ भनेर लेखेका छन् ।