नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गरेको छन् । आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गरेका हुन् ।
समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपालले आमनिर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताए । उनले भने, “राष्ट्रियसभा र उपनिर्वाचनमा संयुक्तरुपमा अघि बढेर जितेर देखाउँछौँ ।” अन्य निर्वाचनको विषयमा सकारात्मक रुपमा छलफल भइरहेको उनको भनाइ छ ।
नेकपा एमालेले अधिवेशनमा नबोलाएकोप्रति कुनै दुःख मनाउ नरहेको उनले बताए । उनले भने, “नबोलाएको ठाउँमा पाहुना बन्ने बानी हामीमा छैन ।” अहिले आफू पार्टी निर्माणमा लागि रहेको उल्लेख गर्दै उनले अब समाजवादी प्रजातान्त्रिक संस्कारअनुसार अघि बढ्ने बताए ।