काठमाडौं: माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रममा एमसीसी समेट्न तयार नभएपछी यो बिषय बारे मौन रहेको प्रधानमन्त्री शेर बहादुर देउबाले बताउनु भएको छ ।
नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाएपछि देउबाले उक्त कुराको खुलाशा गरेको हो । ‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन ?’, निधिको प्रश्न थियो ।
‘राख्न खोजेको हो, प्रचण्डले मानेनन्’, प्रधानमन्त्री देउवाको जवाफ थियो । निधि र शाहीले प्रश्न उठाएपछि महामन्त्री पूर्णबहादुर खड्काले आश्वस्त पार्न खोजेका थिए । उनले यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताए ।
प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आएका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा थिएनन् । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुमोदनको पक्षमा थिए । मंगलबार संसद्मा बोल्दै ओलीले एमसीसीबारे पनि सरकारलाई प्रश्न गरेका थिए ।