२०८१ फाल्गुन १३, मङ्लबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौँ: सत्ता साझेदारका  लागी जसपा नेपालले प्रधानमन्त्री ओलीसँग वार्ता थालेपछि रेशम चौधरीलाई रिहा गर्ने प्रकृया सुरु गरेको छ । महान्यायाधिवक्ता कार्यालयले चौधरीको फाइल झिकाएर अध्ययन थालेको छ भने जसपा नेपालले पनि जिल्लाहरूबाट कागजात मगाएर प्रधानमन्त्री ओलीमार्फत महान्यायाधिवक्ता कार्यालयमा पठाएको छ । रेशम चौधरीलाई कुन कानुनअनुसार रिहा गर्न सकिन्छ भनी अध्ययन भइरहेको स्रोत बताउँछ ।

जिल्ला अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि रेशमले पुनरावलोकनका लागि मुद्दा दायर गरेका छन् । सोही मुद्दामा टेकेर चौधरीलाई छाड्ने तयारी भइरहेको स्रोतले बताएको छ  ।

जसपाका एकजना कार्यकारिणी सदस्यले भने, ‘कुनै पनि मुद्दामा वादी र प्रतिवादी मिलेपछि त्यो मुद्दा आफैं कमजोर हुन्छ । रेशम चौधरीको मुद्दा पनि त्यही हुन्छ । सरकारको तर्फबाट पनि चौधरीलाई सपोर्ट गरेपछि रिहा गर्न सजिलो हुन्छ । यद्यपि कानुनीरुपमा प्रकृया सुरु गरेदेखि अन्तिम फैसला आउँदासम्म कम्तिमा दुई महिना लाग्न सक्छ  ।’

सरकार पक्षका सांसद तथा मन्त्रीहरु र जसपा नेपालका नेता तथा सांसदहरु दिनहुँजसो डिल्लीबजार कारागारमा गएर रेशम चौधरीलाई रिहाइको आश्वासन दिइरहेका छन् । दुवै पक्षले रेशमलाई आफ्नो पहलमा रिहा गर्न थालिएको आश्वासन दिने गरेका छन् । रेशम चौधरी रिहा हुन्छन् या हुँदैनन् ? र, उनको रिहाइका लागि कसको भूमिका महत्वपूर्ण रहने हो भन्ने प्रस्ट हुन अझै केही दिन कुर्नैपर्ने हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु