२०८१ फाल्गुन १४, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

भुमिराज अधिकारी

काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अहिले त्यसको चौतर्फी चर्को विरोध भइराखेको छ । प्रतिपक्षीमात्र होइन, एक समय ओलीका सत्ता सहयात्री पनि विरोधमा उत्रेका छन् । कानूनविद, संविधानविदहरु र सिङ्गो नागरिक समाजले समेत ओलीको कदमलाई असंवैधानिक भनि राखेको छ । यतिबेला प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भई राखेको छ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिवद्धता अनुसारको भूमिका नदिएको र आफूहरुमाथि शंकाको नजरले हेरेको भन्दै उनी निकट पूर्वमाओवादी नेताहरु परामर्शमा जुटेका छन्। ओलीले आफूहरुलाई पेलेर जाने मनस्थिति बनाएपछि पूर्वमाओवादी नेताहरुले विकल्प खोज्न थालेको स्रोत बताउँछ।

स्रोतका अनुसार ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापालाई सहअध्यक्ष बनाउने वचन दिए पनि अहिले तेस्रो बरियता दिनसमेत आनाकानी गरिरहेका छन्। त्यसै गरि गृहमन्त्रीमा जिल्लिएका उर्जामन्त्री टोपबहादुर रायमाझीलाई महासचिव विष्णु पौडेल भन्दा माथिल्लो बरियता दिने वचन दिएका ओलीले पछिल्ला दिनमा बेवास्ता गर्न थालेका छन्।

ओलीले पूर्वमाओवादी नेताहरुलाई प्रतिवद्धता अनुसारको जिम्मेवारी र विश्वास नगरेपछि उनीहरु चिढिएका थिए। ‘‘प्रधानमन्त्रीमा उपयोग गर्ने मानसिकता मात्र देखियो’’ नाम उल्लेख नगर्ने शर्तमा गृहमन्त्री निकट एक नेताले भने, ‘‘उहाँमा आफूतिर तान्नलाई सबै कुरा हुन्छ भन्ने र पक्ष लिएपछि पेल्ने नियत देखिएको छ।’’

तर, प्रधानमन्त्री स्रोतले भने गृहमन्त्री थापा र पूर्वमाओवादी समूहका नेताहरुलाई हैसियत भन्दा बढी जिम्मेवारी दिएको दाबी गरेको छ। प्रधानमन्त्री ओलीको सचिवालयमा काम गरिसकेका एक सदस्यले भने, ‘‘सुरुमा गृहमन्त्रीले मेरो सबै टीम नै मसँग छ भन्नु भएको रहेछ। तर, अहिलेसम्म हेर्दा उहाँ एक्लै हुनुहुँँदो रहेछ। उहाँले आफ्ना नेताहरुलाई सरकारको बचाउमा लाग्न आग्रहसमेत नगर्नुलाई कसरी हेर्ने ? यस हिसाबले हेर्दा उहाँलाई दिइएको जिम्मेवारी हैसियत भन्दा माथिल्लो हो।’’ गृहमन्त्री थापाले युवा संघमा समानान्तर कमिटी बनाएर एकताविरोधी गतिविधि गरेको उनले आरोप लगाए। ‘‘सरकारमा बस्ने, अनि समानान्तर कमिटी पनि बनाउने ? यस्तो तरिकाले चल्दैन’’ उनले भने।

ओलीले फागुन १ गते आफूहरुको इज्जयत जोगाउनका लागि भए पनि जनयुद्ध दिवस मनाउने विश्वासमा रहेका नेताहरु त्यसमा पनि जिल्लिएका छन्। ‘‘जनयुद्ध दिवसमा कुनै न कुनै कार्यक्रम गरौं भनेर हामीले आग्रह गर्‍यौं। तर, प्रधानमन्त्रीमा त्यसप्रति अरुचि मात्रै होइन, असहमति पनि देखिएको छ’’ खानेपानीमन्त्री मणिचन्द्र थापा निकट एक नेताले भने।

गृहमन्त्री थापाले केही दिन अघि युवा संघको केन्द्रीय समिति बैठक बहिस्कार गर्न आफूपक्षीय नेताहरुलाई निर्देशन दिएका थिए। उनकै निर्देशनअनुसार युवा संघमा विवाद बल्झिएको छ। युवा संघमा मात्र होइन, थापाले आफूपक्षीय नेताहरुलाई सबै मोर्चामा असहमति राख्न निर्देशन दिइसकेका छन्।

थापाको असहमतिमा सर्वोच्चमा चलिरहेको बहसको छायाँ पनि देखिएको छ। सुरुका दिनमा ‘संसद पुनर्स्थापना हुनै सक्दैन’ भन्ने विश्वासमा रहेका थापा पछिल्ला बहसहरुको श्रृंखलाले झस्किएका छन्। संसद पुनर्स्थापनाको सम्भावना बढी देखेपछि थापाले ओली समूहबाट बाहिरिने बहानाबाजी खोजिरहेको प्रधानमन्त्री निकट स्रोतको दाबी छ।

थापा मात्र होइन, उद्योगमन्त्री लेखराज भट्ट पनि ओलीसँग चिढिएका छन्। पछिल्ला दिन उनले सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै ओली समूह छोड्न सक्ने संकेत गर्दै आएका छन्। ‘‘ओलीले पेल्दै गए उनलाई छोड्न कुनै आइतबार कुर्नु पर्दैन’’ भट्टले सार्वजनिक रुपमै चेतावनी दिँदै आएका छन्। भट्ट निकटका नेता–कार्यकर्ताले पनि पछिल्लोसमय सामाजिक सञ्जालमा ओली विरुद्ध असहमति जाहेर गरिरहेका छन्।

माघ २८ को आमसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली सरकारका दुई मन्त्री नै आफूहरुसँग आउन छलफलमा रहेको बताएका थिए। प्रचण्डको अभिव्यक्तिले ओली क्याम्पमा भूकम्प नै गएको थियो भने उर्जामन्त्री टोपबहादुर रायमाझीको निजी सचिवालयले विज्ञप्ति नै निकालेर त्यसको खण्डन गरेको थियो। सञ्चारमाध्यमले पनि नेकपामा फर्किनसक्ने नेताहरुले मनोविज्ञानबारे विभिन्न कोणबाट समाचार सम्प्रेषण गरेका थिए।

तर, प्रचण्डको अभिव्यक्ति कुनै भावावेश नभएर यथार्थ भएको घटनाक्रमले संकेत गर्दै आएको छ। गृहमन्त्री र उद्योगमन्त्रीको असहमति सतहमा आए पनि अरु नेताहरुले भित्रभित्रै ओली समूहको बिकल्प खोजिरहेका छन्। उनीहरुले आफू निकट नेता–कार्यकर्ताको भेटमा बाध्यतावश ओली समूहतिर लागे पनि ‘स्थिति सोचेजस्तो नभएको’ भन्दै आएका छन्।

स्रोतका अनुसार गृहमन्त्री थापाले पूर्वमाओवादी समूहका सबै नेतालाई आफूमा केन्द्रित गर्ने, त्यसकै बलमा ओलीसँग बार्गेनिङ गर्ने र कुरा नमिले बिकल्प खोज्ने तयारी गरेका छन्। यसका लागि उनले पूर्वमाओवादी खेमाका नेताहरुसँगको परामर्श तीव्र पारेका हुन्।

यसरी अन्तत : बिभिन्न घटना /परिघटनाहरुलाई हेर्दा खेरी पुर्वमाओवादी समुहका नेताहरु अहिले केपी समुहमा लागेका छन् तर केही समय पछि नै ओली गुट छोडेर प्रचण्ड समुहमा आउने करबि पक्का नै भएको छ । प्रचण्ड समुहमा नै फर्कने निर्णय हुन लागेको समाचार स्रोतले बताएको छ

फेसबुक प्रतिक्रियाहरु