काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् । कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् ।
‘नेकपा हाम्रै हुन्छ, सूर्य हाम्रै हुन्छ लेखेर राख्नुस् उहाले भन्नुभयो । भएन भने आँधीहुरी चल्छ’ प्रचण्डले सम्बोधनका क्रममा कार्यकर्ताहरुलाई भने, ‘यसमा तपाइहरु ढुक्क हुनुस् नेकपा र सूर्य चिन्ह हाम्रै हुन्छ ।’
उनले सोमबार मात्रै आफुसहित नेकपाका नेताहरु आयोग पुगेर त्यहाँका पदाधिकारीहरुसँग भएको कुराकानीबाट पनि र संविधान र विधानअनुसार पनि नेकपा र सूर्य चिन्ह आफुहरुकै हुनेमा विश्वस्त रहेको बताए । प्रचण्डले जताततै अल्पमतमा परेका ओलीले केन्द्रीय समिति विस्तार गरेको नाटक गरेको भन्दै विचार र सिद्धान्त नै त्याग्दै मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जवज) पनि छाडिसकेको बताए ।
ओलीले दुनियाँलाई उल्लु र जनतालाई भेडा ठान्ने गरेको भन्दै गणतन्त्र सम्भव छैन, समावेसी समानुपातिक चाहिँदैन भन्ने ओली नै भएको बताए । ‘त्यसो भन्ने हामी र जनता होइनौ, केपी ओली नै हो’ प्रचण्डको भनाई छ । झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको भन्दै उनले हिजोमात्रै निर्वाचन आयोगमा गएर पार्टीको अवस्थाबारे कुरा राखेको र त्यसपछि आफुलाई निर्वाचन आयोगले अन्ततः निश्पक्ष निर्णय गर्नेमा विश्वास जागेको बताए ।