काठमान्डौ: संसद बिघटन बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध बिद्यार्थी संगठन अनेरास्ववियूले बुधबार उपत्यकामा लाल्टिन जुलुस निकालेको छ ।
‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है ! संविधानमा संसद् विघटनको धारा खै ?’ लेखिएको ब्यानर सहित अनेरास्वबियुले लाल्टिन जुलुस प्रदर्शन गरेको हो । जुलुसमा असंवैधानिक कदम खारेज गर, अनेरास्ववियु जिन्दावाद, बयलगाडा कहाँ छ, अनेरास्ववियु यहाँ छ’ लगायतका नारा लगाएका थिए । विद्यार्थीहरुको जुलुस माइतीघरबाट नाराबाजी गर्दै नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।
काठमान्डौ लगाएत विभिन्न ठाउमा अनेरास्ववियुले लाठि, सिटि तथा लाल्टिन जुलुस निकालेको छ । सभालाई सम्बोधन गर्दै विद्यार्थी नेता तथा अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले नेपालको संविधान २०७४ मा संसद विघटन गर्ने कुनै धारा नभएको भन्दै ओली आफैले धारा बनाएर संसद विघटन गरेको बताए । उनले असंवैधानिक कदम सच्चाउन चेतावनी दिँदै ओली नेतृत्वका सबै मन्त्रीलाई कालो मोसो लगाइने बताए । उनले ओलीले प्रतिगामी कदम नसच्चिए आगामी पुस २६ गते केपी ओलीलाई बयलगाडामा राखेर अमेरिका पठाउने समेत बताए ।