२०८१ बैशाख १६, आइतवार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष माधव कुमार नेपालले निरंकुश बाटो समातेका केपी ओली र उनको प्रवृत्तिको आयु सकिएको बताएका छन् । मंगलबार संसद विघटनविरुद्ध काठमाडौंमा भएको विशाल प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले केपी ओली र ओली प्रवृत्तिको आयु सकिएको बताएका हुन् ।

‘निरंकुशताको बाटो समातेका केपी ओली र ओली प्रवृत्तिको आयु सकियो । नेपाली जनता दृढताका विरुद्ध उभिएका छन्’, नेता नेपालले सम्बोधनका क्रममा ओलीले पुस ५ गते चालेको कदम जनभावना र राजनीतिक हिसावले उचित नभएको बताए । ‘जुनसुकै कोणबाट हेर्दा पनि त्यो कदम अनुपयुक्त छ । स्वीकार्य छैन । असंवैधनिक कदमलाई अस्वीकार गर्न आन्दोलनको उद्घोष गरेका हौँ,’ नेता नेपालको भनाइ थियो ।

गणतन्त्रको आन्दोलन चलेका बेला खिसिट्युरी गरेर बलयगाढा चढेर गणतन्त्र आउदैन भनेर ओलीले भनेको स्मरण गर्दै नेता नेपालले ओलीले चालेको असंवैधानिक कदमपछि पार्टी अध्यक्षबाट हटाएको बताए । ‘अझै उहाँ सुध्रनुहुन्छ कि भनेर पार्टी सदस्यबाट हटाएका छैनौँ,’ नेपालको भनाइ छ । अझै पनि ओलीले पश्चाताप र गल्ती स्वीकार गरेमा सबै कुरा बिर्सन तयार रहेको नेता नेपालले जनाए ।

केही नेताहरु अझैपनि ओलीलाई मनाउने प्रयासमा रहेको भन्दै बालुवटारको बालुवा पेलेर तेल निकाल्ने प्रयासमा लागेका नेताहरुलाई शुभकामना दिए । उनले संविधान र कानुन मिच्ने प्रवृतिको विरोधमा सबै शक्तिले साथ दिनेमा आफु विश्वस्त रहेको पनि बताए । ‘आउनुहोस् सबै वामपन्थी, लोकतन्त्रवादी, नागरिक समाजका अगुवाहरु सोच्नुस्, हातेमालो गरौँ,’ नेता नेपालले आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरे । नेता नेपालले संविधान अनुसार प्रतिनिधिसभा भंग गइसकेपछि उनी काम चलाउ प्रधानमन्त्रीका रुपमा सिमित रहेको बताए ।

अध्यक्ष नेपालले नेपाली जनता दास बन्न तयार नरहेको पनि बताए । ‘नेपाली जनता दास बन्न तयार छैनन् । उनीहरु अव देशलाई सहि लिगमा लिएर जान र समाजवादको दिशामा जाने पक्षमा रहेका छन् । त्यो काम गर्ने शक्ति भनेको नेकपाबाहेक अरु शक्ति छैन,’ नेता नेपालको भनाइ छ । उनले कहिलेकाही खोजे जस्ता सन्तान नहुने भन्दै पार्टीमा पनि त्यस्तै भएको बताए । उनले राजा ज्ञानेन्द्र प्रवृतिसँग तुलना गर्दै नेता नेपालले ओलीलाई अझै सद्बुद्धि आवस् भन्ने कामना गरेको बताए ।  तर उनले आएन भने समयले नपर्खने बताए । ‘सहिलाई सहि भन्ने र दोषीलाई कडा सजाय दिन्छ । ओलीजीले जनतालाई सुख कम, दुख ज्यादा दिनुभएको छ । उहाँमा मान सम्मान दिने कम्युनिस्ट आचरण र संस्कार रहेनछ । सल्लाहमा चल्ने सामुहिकतामा विश्वास गर्ने चलन छैन । गुटवाद, निरंकुश चरित्र र बदलाको भावना छ,’ नेपालको टिप्पणी थियो । उनले ओलीले सधैँ पार्टीका नेताहरुसँग ढँटछल गर्ने गरेको भन्दै त्यस्तै प्रवृीत्त पूर्व राजाको पनि भएको जिकिर गरे ।

नेकपा र सूर्य चिन्ह नेकपा कै हुने भन्दै सूर्य कसको पक्षमा जाने हो भनेर भ्रममा नपर्न नेता नेपालले आग्रह गरे ।’ केपी ओलीलाई सुनामीले बगाएर लैजान्छ,’ नेपालको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु