२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौँ : प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको बुधबार निधन भएको छ । महरापत्नी सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा ५९ वर्षको उमेरमा  बुधबार बिहान निधन भएको हो ।

रोल्पामा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा उपचाररत सीता महराको बुधबार बिहान ६ बजेर २५ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कृष्णबहादुर महराका स्वकीय सचिव डिल्ली मल्लका अनुसार नर्भिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा सीतालाई कोरोना संक्रमण पनि देखिएको थियो । सीता १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित रहेको पनि मल्लले जानकारी दिएका छन् । विक्रम संवत २०१८ साउन १३ गते रोल्पामा जन्मिएकी सीताले २०३५ सालमा कृष्णबहादुर महरासँग विवाह गरेकी थिइन् । महराका दुई छोरा र दुई छोरी रहेका छन् ।

महरापत्नी सीताको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सीता महराको निधनबाट अत्यन्त दु:ख लागेको बताउँदै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु