नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीको म नै राज्य हुँ, म नै पार्टी हुँ भन्ने प्रवृत्तिले समस्या उत्पन्न भएको बताउनु भएको छ । नेता नेपालले ओलीकै कारण पार्टी एकता गरेको लामो समयसम्म पनि एकता प्रक्रिया पूरा नभएको र पार्टी कागजमा सीमित भएको समेत बताउनु भएको छ ।
नेता नेपालले ओलीलाई म त महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष हुँ भन्ने भ्रम नराख्न आग्रह गरे । दुबै पार्टीलाई विघटन गरेर पार्टी एकता गरेको र बहुमतको निर्णय पार्टीको निर्णय हुने विधानमा नै प्रष्ट उल्लेख रहेको नेता नेपालले बताए ।
एकता महाधिवेशन नहुँदासम्म सबै सहमतिबाट हुनुपर्छ भन्ने तर्क सुनिएको भन्दै उनले भने, ‘हामीले फरक मत राख्दा हुन्छ भने अध्यक्षले राख्न हुँदैन भन्ने हुन्न ।’ सचिवालयमा बहुमतले निर्णय भए स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म जाने र त्यसले गर्ने निर्णयलाई सबैले मान्नुपर्ने उनले बताए ।
सरकार सञ्चालनमा समेत गम्भीर प्रश्न खडा भएको भन्दै नेता नेपालले भने, पार्टीमा पनि व्यक्तिवाद र अराजकता पैदा भएको छ । त्यसैले यो पदको लडाईं होइन, पार्टीलाई विधि, पद्धतीमा चलाउने कि नचलाउने भन्ने प्रश्नसँग जोडिएको छ ।’
वरिष्ठ नेता झलनाथ खनालले पनि अध्यक्ष ओलीले चरम गुटबन्दी गरिरहेको आरोप लगाए । मदन भण्डारी फाउण्डसेनका नाममा वडासम्म कमिटी बनाउने, गुटबन्दी गर्ने र आफूहरुलाई बदनाम गर्ने काम भइरहेको उनले बताए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ओलीलाई रुपान्तरण गर्ने प्रयास सफल नभएको बताए । रुपान्तरणको प्रयासका रुपमा मंसिर ४ र वैशाख २० को सहमति गरेको भए पनि त्यो कार्यान्वयन नभएको र विश्वासको संकट पैदा भएको उनले भने, ‘त्यसको विकल्पमा अब नकारात्मक प्रवृत्तिका पात्रहरुको भूमिका परिर्वतन गरेर भए पनि अगाडि बढ्नुुपर्छ भनेर प्रयत्न भइरहेको छ ।’
पार्टीलाई विसर्जनको दिशातिर जाने र सरकार असफल भएर चुनावमै जान नसक्ने अवस्था आउन नदिन पनि नकारात्मक प्रवृत्तिका पात्रहरुको भूमिका परिर्वतन गरेर सकारात्मक प्रवृत्तिलाई स्थापित गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको उनले बताए । त्यसका लागि बैठक बस्नुपर्ने भन्दै खनालले भने, ‘बैठक बस्न नदिएकाले समस्या भएको छ ।’