२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

हामी बस्ने गोठमै हो
गोठमै आगो लगायो
सरकार लाग्यो हजुर,
सरकार लाग्यो
हाम्रो लागि न्याय मर्‍यो ।

पुग्नका लागि सरकारको छेउ
हामीले बाटो मागेनौं
पढ्नका लागि सरकारका कुरा
हामीले स्कूल मागेनौं
हामी बस्ने टहरो हो
टहरै आगो लगायो
सरकार लाग्यो हजुर,
सरकार लाग्यो
हाम्रो लागि न्याय मर्‍यो ।

जूनकै उज्यालो हाम्रो आँखा
हामीले बिजुली मागेनौं
पसिना पिउने हो हामीले
धारामा पानी मागेनौं
हाम्रै झुप्रो हो अस्पताल
झुप्रोमै आगो लगायो
सरकार लाग्यो हजुर,
सरकार लाग्यो
हाम्रो लागि न्याय मर्‍यो ।

हामी चेपाङ आदिवासी
हामी यसै सुकुम्वासी
हामी बस्ने गोठमा हो
गोठमै आगो लगायौ
हामीमा आगो बल्यो,
बल्यो आगो !
हाम्रो लागि सरकार मर्‍यो ।

फेसबुक प्रतिक्रियाहरु