२०८१ फाल्गुन १७, शनिबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौँ :  मंसीरमा महाधिवेशन गर्ने प्रधानमन्त्री  केपी शर्मा ओलीको प्रस्तावमा आफूले समर्थन नगरेको नेकपा अर्का अध्यक्ष प्रचण्डले  प्रष्टीकरण दिएका छन् ।

आइतबार बिहान आफ्नै निवास खुमलटारमा पहिला सचिवालयका सदस्य र पछि स्थायी कमिटीका सदस्यसमेत राखेर दाहालले शनिबारको राजनीतिक घटनाक्रम र मंसीरको महाधिवेशनबारे प्रस्टीकरण दिएका हुन् । शनिबार सचिवालय बैठकमा दुवै अध्यक्षले मंसीरमा महाधिवेश गर्ने सहमतिको प्रस्ताव गरेका थिए ।

नाटकीय रुपमा नयाँ प्रस्ताव अगाडि सारेपछि असन्तुष्ट सचिवालयका चार नेतालाई दाहालले आइतबार बिहानै खुमलटार बोलाएका थिए । शनिबारको बसेको सचिवालय बैठकमा मंसीरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा दाहालले समर्थन जनाएपछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएको समाचार बाहिर आएको थियो ।

महाधिवेशनको प्रस्ताव अल्झाउने, स्थायी कमिटी बैठकको स्प्रिटलाई भत्काउने प्रयत्न मात्र  भएको दाहालले  बताएका छन् । ‘अर्ली महाधिवेशनको प्रस्ताव अल्झाउने प्रस्ताव हो । न सदस्यताको टुंगो लागेको छ । न पार्टी एकीकरणको प्रक्रिया पूरा भएको छ । न वैचारिक छलफल हुने समय छ । प्राविधिक कुरा गरेर मात्रै महाधिवेशन हुँदैन, ’दाहालको भनाई उद्धृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने, ‘महाधिवेशन भनेपछि सबै विधि पूरा गर्नुपर्छ । यसकारण यो प्रस्ताव जसरी आयो त्यो अल्झाउने, स्थायी कमिटी बैठकको स्प्रिटलाई भत्काउने प्रयत्न हो । हिजो केही सहमति गरिएको छैन ।’

ती सदस्यका अनुसार दाहालले सामूहिक रुपमा कमिटीको निर्णयअनुसार अगाडि बढ्ने पनि बताएका छन् । दाहालको भनाईउद्धृत गर्दै ती सदस्यले भने, ‘बाहिर सहमति भयो भनेर हल्ला गरियो, हामी त्यसमा सहमत छैनौं । राष्ट्रपतिकहाँ गएको पनि जुन ढंगले हल्ला गरियो, त्यो कुनै पुर्वनिर्धारित कार्यक्रम थिएन । अप्रत्याशित रुपमा बोलाएर गएको हुँ । पार्टी कमिटीले जे भन्छ त्यही अनुसार अगाडि बढ्ने हो । त्यसरी नै जानुपर्छ । सामूहिक रुपमा कमिटीको निर्णय अनुसार अगाडि बढ्ने हो । बाहिर आएका हल्ला मात्रै हुन् ।’

खुमलटारमा वरिष्ठ नेताद्वय नेपाल र खनाल, प्रवक्ता श्रेष्ठ थिए । दाहालको सचिवालयले शनिबार राति नै कुनै सहमति नभएको बताएको थियो । यसअघि आफ्नो गठबन्धनमा रहेका सचिवालयका अरु नेताहरुसँग कुनै परामर्श नगरी ओलीसँग मिलेर आएको भन्दै असन्तुष्ट बनेका सचिवालयका चार नेतासहित स्थायी कमिटीका केही नेतालाई खुमलटार बोलाएर दाहालले आस्वस्त पार्ने कोशिस गरेका हुन् । आइतबार नेता माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्यहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्टलगायत र दाहाल निकट स्थायी कमिटी सदस्य बर्षमान पुन, पम्फा भुसाल र देव गुरुङलगायत खुमलटार भेलामा सहभागी थिए।

नेकपाको आइतबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक पनि स्थगित भइसकेको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडानका कारण असार १० देखि सुरु नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित छ । ओलीले दुवै पद नछाड्ने बताएका छन् । यही तनावबीच मंसीरमा महाधिवेशन गर्ने प्रस्तावले नेकपा विवाद नयाँ मोडमा पुगेको छ । कान्तिपुर

फेसबुक प्रतिक्रियाहरु