सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् ।
भोलि साउन २ गतेका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । यसअघिका वार्तामा ओली र प्रचण्ड मात्र बस्दै आए पनि यो पटक प्रचण्ड नेता नेपाललाई लिएर पुगेका थिए । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।
बालुवाटारमा भएको भेटमा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे । बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास खुमलाटारमा नेकपा सचिवालय समितिका ६ नेता (प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल) को छलफलमा पनि प्रधानमन्त्रीको राजीनामा माग्नाे अडान कायम राख्ने सहमति भएको एक नेताले बताए ।