काठमाडौं : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति पहिरो जादा दुईवटा घर पुरिनुको साथै पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु पाँचै जना महिला हुन् ।
राति सकिब साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पहिरोले पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका हुन् । घटनास्थलमा रहेका स्थानीयवासी बुद्धि गुरुङका अनुसार पहिरोमा पुरिएको अर्को घर भने ङासम्बु शेर्पाको हो । त्यो घरमा भने कोही पनि बस्दैनथे ।
तेस्तै पहिरोकै कारण फुल्पिङकट्टीकै एक स्कुलको कम्पाउन्डमा पनि क्षति पुर्याएको छ ।बिहीबार बिहानपख २ बजेतिर बलेफी नदी जलबिरे सिन्धुपाल्चोक बाढी मापन केन्द्रमा एक्कासी जलसतह एक मिटर बढेर सतर्कता आसपासको बाढी आएको थियो ।
बाढी बढ्दो क्रममा छ । त्यसैले बाढी पूर्वानुमान महाशाखाको बाढी सूचना केन्द्रले सुनकोशीको तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसोसम्मै सुरक्षित रहन आग्रह गरेको छ ।
यसअघि गत असार २४ गते राति सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको थियो भने २० जना बेपत्ता छन् । बाढीले क्षति पुर्याएर अवरुद्ध भएको अरनिको राजमार्ग अझै खुलेको छैन ।