२०८१ फाल्गुन १९, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्वय  केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको  ‘वान टु वान’ वार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भएको ‘वान टु वान’ वार्तामा असमझदारी बढ्नुका कारणहरु खोज्ने प्रयास भएको छ ।

‘छलफलको सुरुवात भएको छ । नेताहरुमा देखिएका अविश्वास, भ्रम र हल्लाहरुबारे एक अर्कामा प्रष्ट पार्ने काम भएको छ |

सोमबार करिव २ घण्टा ओली र प्रचण्डबीच छलफल भएको थियो । दुई नेताबीच छलफलका लागि आवश्यक परेमा पार्टीका वरिष्ठ नेताहरुलाई पनि राख्ने विषयमा कुराकानी भएको बुझिएको छ ।

दुई नेताको वार्तामा वार्ता र सहमतिको प्रयास भइरहेका बेला चलाइएका हल्लाको वास्तविकता केहो ? भन्नेमा नेताहरुबीच कुराकानी भएको थियो ।

त्यसक्रममा अध्यक्ष प्रचण्डले यस्तो बेलामा चल्ने हल्लाबाट सतर्क रहनुपर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । जवाफमा ओलीले संकटका बेला विभिन्न तत्वहरुले खेल्न खोज्ने भएकाले सावधानी अपनाउनुपर्नेमा जोड दिएका थिए । दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने खुलेको छैन । तर प्रचण्ड प्रफुल्ल मुद्रामा बाहिरिएको बालुवाटार स्रोतको दावी छ ।

स्रोतका अनुसार आइतबार ५ बुँदे सहमतिको ड्राफ्ट तयार भएको र त्यसैमा आधारित भएर सहमति खोज्न थालिएको भनेर चलाइएको हल्लाहरु नियोजित भएको भन्दै दुबै नेताले त्यस्तो ड्राफ्ट तयारै नभइ हल्ला गरेर भाँड्न खोजेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

यसैबीच नेकपाको आन्तरिक झगडा साम्य पार्ने उद्देश्यले यसअघि नै तय भएको स्थायी समिति बैठक असार २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु