काठमाडौँ — साहित्यकार झमक घिमिरेलाइ सरकारले तीनतले भव्य निवास बनाइदिएको छ । गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको एक रोपनी जग्गामा झमकलाइ सरकारले अपांगमैत्री घर बनाइ दिएको हो ।
‘सरकारले स्रष्टालाई गरेको यो ठूलो सम्मान हो,’ घर पाएकोमा खुसी ब्याक्त गर्दै चिठीमार्फत झमकले भनिन्, ‘म निकै भावुक बनेकी छु । छिट्टै काठमाडौं आउन चाहन्छु ।’
जन्मिँदै मस्तिष्क रोग सेरेब्राल पाल्सीबाट पीडित झमक बोल्न र हिँडडुल गर्न सक्दिनन्, खुट्टाले लेखेरै संवाद गर्छिन् । खुट्टाको तीनवटा औंला मात्रै चल्ने उनले आधा दर्जनभन्दा बढी कृति लेखेकी छन् भने आत्मकथा ‘जीवन काँडा कि फूल’ का लागि केही वर्षअघि मदन पुरस्कार पाएकी थिइन् । यिनै स्रष्टाको सम्मानमा सरकारले पाँच वर्षअघि घर बनाउने घोषणा गरेको थियो । त्यतिबेलै पशुपति क्षेत्र विकास कोषको जग्गा प्राप्त भए पनि निर्माण कार्य भने दुई वर्ष अगाडि थालिएको थियो । १ करोड ८० लाखको लागत रहेको तीनतले घर निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा छ । प्रधानमन्त्री पत्नी शाक्यको रेखरेखमा निर्माण सम्पन्न भएको घरको छिट्टै हस्तान्तरण गरिने बताइएको छ ।
सहरी विकास मन्त्रालयका तर्फबाट ज्ञानज्योति बिल्डर्सले निर्माण गरेको घर पूर्ण रूपमा अपांगमैत्री छ । भुइँतलामा झमकको बस्ने, लेखपढ गर्ने र सुत्ने थलो बनाइएको छ भने ह्विलचियरबाटै लिफ्ट चढेर छतमा घाम ताप्न जान सकिने बन्दोबस्त मिलाइएको छ । अनिताका अनुसार दोस्रो तलामा झमकको परिवार बस्ने छ भने तेस्रो तलामा पुस्तकालय र सभा हल निर्माण गरिएको छ । वृक्षरोपणपछि प्रधानमन्त्री पत्नी शाक्यले सरकार स्रष्टाहरूको सम्मानमा कटिबद्ध रहेको बताइन् । सामाजिक दूरी कायम राखेर गरिएको कार्यक्रममा प्राज्ञ लक्ष्मी माली, साहित्यकार स्नेह सायमी, वासुदेव अधिकारी, अनन्त वाग्ले, अनिता लामा, सुरेश हाचेकाली, रोजिता बुद्धाचार्यलगायतले झमकद्वारा रचित कविता सुनाए