दुई तिहाईको सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्ततः फुटको संघारमा पुगेको छ । नेताहरुको अनुसार पार्टी लगभग फुटको संघारमा पुगेको छ र अब कसले अगाडि औपचारिक निर्णय गर्ने भन्ने बारे मात्र सार्वजनिक हुन बाँकी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री र राज्यमन्त्रीहरुसंग छलफल गर्दै पार्टी फुट नजिक पुगेको र आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् ।
उनले पार्टीलाई फुटबाट जोगाउन प्रयास गरे पनि त्यो असम्भव जस्तै बन्न थालेका सुनाएका थिए । उता सोही बेला अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु बसेको बैठकले सरकारलाई फिर्ता बोलाउने सम्मको निर्णय गर्ने अन्तिम सहमति विन्दुमा पुगेका छन् । आफूहरुको माग बारे प्रधानमन्त्रीले चट्टानी अडान लिएपछि अब बाध्य भएर बहुमतबाट निर्णय गर्ने निश्कर्षमा पुगेका छन् ।
यसरी दुई पक्षको शक्ति संघर्षले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहालर माधव नेपालको शक्ति संघर्षका कारण पार्टी अब नेकपाको फुटलाई जोगाउन कसैले नसक्ने विश्लेषण गरिएको छ । स्वंम प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पार्टी फुटको अवस्थामा पुगेको र आफ्नो तयारी गर्न सुझाव दिएको कुरा नै प्रयाप्त पुगेको छ ।
विवाद मिलाउनकै लागि भए पनि स्थायी कमिटी बैठक असार २२ गते भोलि (सोमबार)सम्मका लागि स्थगित गरिएको छ । तर यो बीचमा सकरात्मक वार्ता हुनुको साटो दुवै पक्षले एकअर्कालाई गलाउने रणनीति बनाउन मात्र व्यस्त भए । नेताहरुको यस्तो गतिविधिले सोमबारसम्ममा नेकपा फुटको अवस्थामा पुग्ने स्रोत बताउँछ ।