२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं – आज बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ बस्ने मन्त्रिपरिषद् बैठकले कलिला बालबालिकाको परीक्षा सम्बन्धी निर्णय लिन लागेको जानकारी दिए ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै सरकारले पूर्व निर्धारित माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको थियो । कोरोना संक्रमण बढ्दै गएपछि एसईई परीक्षाबारे अन्योल देखिएका बेला सरकारले त्यसबारे निर्णय गर्न थालेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा यसपालि एसईई परीक्षा नगर्ने प्रस्ताव पुगेको स्रोतले जनाएको छ । स्रोतका अनुसार कोरोना भाइस संक्रमण नियन्त्रण अनिश्चित भएकाले परीक्षा नगर्ने निर्णय गरिने छ ।

पूर्व निर्धारित एसईई परीक्षा नभएपनि विद्यार्थीले एसईईअघि विद्यालयले लिएको ‘टेस्ट’ परीक्षाका आधारमा प्राप्तांक दिने गरी निर्णय हुने स्रोतले जनाएको छ ।

शिक्षा मन्त्रालयले यससम्बन्धी प्रस्ताव तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेश गरेको हो । परीक्षा सञ्चालन गर्नेबारे मन्त्रालयले थुप्रै तयारी र अध्ययन गरेपनि सम्भव नभएपछि अन्ततः यसपालि परीक्षा नगर्ने निष्कर्षमा मन्त्रालय पुगेको जनाइएको छ ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि टेस्ट परीक्षाका आधारमा नतिजा प्रकाशनको तयारी अगाडि बढ्ने जनाइएको छ । सरकारले यसअघि उपल्लो कक्षामा अनलाइन पठनपाठन खुला राख्ने वैकल्पिक विकल्पको बाटो समेत खोलेको छ ।

फेसबुक प्रतिक्रियाहरु