२०८२ फाल्गुन २७, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं: नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतमले बुधबारको सचिवालय बैठकमा आफू पनि गुट चलाउने घोषणा गरेका छन । नेताहरुले गुट चलाएको भन्दै आक्रोशित बनेका गौतमले आफू पनि अब छुट्टै गुट बनाउनतर्फ लाग्ने बताएका थिए ।

पछिल्लो समय कहिले प्रचण्ड गुट त कहिले ओली गुटमा मिसिदै आएका गौतम पार्टीको संगठन विभाग प्रमुखसमेत हुन् । तत्कालीन एमालेको नवौ महाधिवेशनबाट ओली समूहमा लागेका गौतम र उनीपक्षका धेरै नेताहरु पनि ओली समूहमै छन्।

बुधबारको बैठकमा अध्यक्ष ओलीले सुरुमै संसद् अधिवेशन बोलाइसकेकाले सरकारको ध्यान बढिमात्रामा नीति तथा कार्यक्रम र बजेट तयारीमा हुनुपर्ने भन्दै स्थायी समिति बैठक विषयवस्तु र समय दुवै हिसाबले कम आवश्यक भएको बताएका थिए । त्यसपछि वरिष्ठ माधव कुमार नेपालले वैशाख २० मा बसेको सचिवालय बैठकले पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्दै एकताबद्ध बनाउने निर्णय गरिसकेको अवस्थामा बैठक स्थगित गर्न नहुने धारणा राखेका थिए ।

तर प्रधानमन्त्री ओलीले आफुविरुद्ध मोर्चाबन्दी गरेको, एक्ल्याउन खोजेको भन्दै कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपालप्रति असन्तुष्टि पोखेका थिए । नेताहरुबीचको यस्तो छेडखानपछि ओली आराम र अरु काम पनि भएको भन्दै बैठक छाडेर हिडेका थिए । कुनै निर्णय नगरी बैठक सकिएपछि अध्यक्षद्वय ओली र प्रचण्डबीच केही दिनभित्रै स्थायी समिति बैठकका लागि मिति तय गर्ने आन्तरिक समझदारी भएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु