२०८२ फाल्गुन २७, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेपछि बैठकमा चर्काचर्की भएको छ। बुधबार बालुवाटारमा बसेको बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार बैठक सुरु भएलगत्तै प्रचण्डले करिब ४५ मिनेट बोलेका थिए।

सरकार र पार्टी दुबै कमजोर बन्दै गएको आरोप लगाउँदै ओलीले मार्गप्रशस्त गनुपर्ने आग्रह गरेका थिए। प्रचण्डको आग्रहपछि जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफु मार्गप्रशस्त गर्न तयार रहेको भन्दै एउटा ‘सरप्राइज’ प्रस्ताव राखेका थिए।ठिक छ म दुबै पद छाड्न तयार छु। तर त्यसका लागि मेरो एउटा सर्त छ। संविधान संशोधन गरेर वामदेव गौतमलाई प्रधानमन्त्री बनाऔं। माधव नेपाललाई अध्यक्ष बनाऔं।’ ओलीले यस्तो प्रस्ताव गरेपछि बैठकमा केहीबेर सन्नाटा छाएको अन्नपुर्ण पोस्टले खबर छापेको छ ।

त्यसपछि गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले दुबै अध्यक्षको प्रस्ताव यो समयमा ठिक नभएको भन्दै मिलेर संकटको सामना गनुपर्ने बेला आपसमै कलह मच्चाएर सरकार र पार्टी दुबैलाई बदनाम गर्न नहुने बताएका थिए। उनले सरकारलाई कमजोर पार्ने र पार्टीलाई फुटाउने नियोजित खेलमा विभिन्न तत्वहरु सक्रिय भएको हुँदा यसमा सचेत रहेर संयम एवंम सुझबुझ देखाउन र पार्टीलाई एकताबद्ध भएर अगाडी बढाउन दुबै अध्यक्षलाई आग्रह गरेका थिए।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब नेकपाको २० गते सचिवालय बैठक बस्नेछ। उनका अनुसार २० गतेको सचिवालय बैठकले स्थायी कमिटीको बैठकबारे टुंगो लगाउनेछ।

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ। खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र विवाद र गुटबन्दी चर्केको हो। संकटमा सघाउनुपर्ने बेला सरकारलाई अप्ठ्यारो पार्ने र यसले पार्टीलाई समेत कमजोर पार्ने मत पार्टीभित्र बलियो बन्दै गएको छ। ओलीको विकल्प खोज्‍न प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको छ। प्रचण्ड र नेपाल समूहका २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।

सिंगो मुलुकले संकट सामना गरिरहेका बेला पार्टीभित्रैबाट आफूमाथि प्रहार हुन थालेपछि प्रधानमन्त्री ओलीले संसद र पार्टी दुवैतिर आफ्नो बहुमत जुटाउने प्रयास गरेका छन्। यही क्रममा ओलीले तत्कालीन एमाले र माओवादी दुवै पक्षका सांसदसँगको भेट तथा छलफललाई तीव्रता दिएका हुन्। पूर्वमाओवादीका केही नेताहरु पछिल्‍लो समय ओलीसँग नजिकिएका छन्। आवश्यक परे बहुमतको दस्तावेज देखाउने गरी बहुमत सांसदको हस्ताक्षर समेत गराइएको छ। अहिले नेकपासँग १७३ सांसद छन् ।

ओलीले सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका थिए। स्रोतका अनुसार सचिवालय बैठकमा ओलीले संकटका बेला सत्ताको खेलमा लाग्दा बाहिर नराम्रो सन्देश गएको उल्लेख गर्दै सहयोगका लागि आग्रह गरेका थिए। अध्यक्ष र प्रधानमन्‍त्री कुनै पनि पद छोड्न आफू तयार नरहेको संकेत पनि ओली  दिएका थिए।

ओलीले मिलेर अघि बढ्ने प्रस्तावसहित प्रचण्ड र माधव नेपाल दुवै समूहलाई फकाउने प्रयास गरेका थिए। त्यसका लागि उनले नेपाल र प्रचण्डसँग भेटेर पटकपटक छलफल पनि गरेका थिए। तर त्यो पहल सफल नभएपछि सांसदको हस्ताक्षर जुटाएर बहुमत देखाउने तयारीमा ओली छन्। बालुवाटार निकट स्रोतले भन्यो, ‘बाहिर हल्ला गरियोजस्तो अल्पमतको अवस्था होइन। पार्टी र संसद दुवैतिर स्पस्ट बहुमत छ। त्यो आवश्यक परे दस्तावेजसहित पेस हुनसक्छ।’

 

फेसबुक प्रतिक्रियाहरु