दक्षिण कोरियाको संसदीय निर्वाचनमा राष्ट्रपति मुन जे-इनको पार्टीले शानदार जित हासिल गरेको छ।
मुनको प्रजातान्त्रिक पार्टीले कुल ३०० सिटका लागि भएको निर्वाचनमा १ सय ६३ सिटमा जित हासिल गर्दे स्पष्ट बहुमत हासिल गरेको हो।
यसैगरी उसलाई समर्थन गर्ने द प्लेटफर्म पार्टीले १७ सिटमा जित हासिल गर्ने अनुमान गरिएको छ। यसले गर्दा संसदमा राष्ट्रपतिको पार्टीको पक्षमा १८० सिट पुग्नेछ।
दक्षिण कोरियाले कोरोना महामारीकाबीच नै पूर्वनिर्धारित समयमा निर्वाचन गरेको हो।
निर्वाचन स्थलमा सुरक्षा तथा सामाजिक दुरी कायम गरेर मत हाल्ने व्यवस्था मिलाइएको थियो।
कुल ३५ वटा दलले प्रतिष्पर्धा गरेका यस निर्वाचनमा डेमोक्रेटिक पार्टी र विपक्षी युनाइटेड फ्यूचर पार्टीबिच प्रतिष्पर्धा थियो।
युनाइटेड पार्टी र उसको सहयोगी दलले १०३ सिट ल्याउने अनुमान गरिएको छ।
मुनको जितले कोरोना भाइरस नियन्त्रणमा उनको सरकारले अबलम्बन गरेको नीतिमाथि जनताको समर्थनका रुपमा हेरिएको छ।
मुनको पार्टीको यो सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हो।
योसँगै १६ वर्षमा दक्षिण कोरियामा वामपन्थी झुकाव राख्ने पार्टीलाई मिलेको यो सबैभन्दा ठूलो बहुमत पनि हो।
एजेन्सी