२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौ। आज भन्दा २० वर्ष पहिला सपनाको देश अमेरिका पुगेका थोक्मे बिष्टको घर फर्कने सपना सपनामै सिमीत भई दियो । अपर मुस्ताङका राजाका भान्जा पर्ने थोक्मेको अमेरिकन नागरिक बन्ने सपना पूरा नहुने भएपछि उनले आफ्नो बाँकी जीवन नेपालमा रहेका परिवारको साथमा सुखले बिताउने योजना बुन्दै थिए ।

हुने हार दैव नटार भने झैं दैवकै लिलाको अगाडी उनको केही लागेन । विश्वलाई नै त्रसित बनाई रहेको कोरोनाले उनलाई उतै समुन्द्र पारीको देश अझैं भन्ने हो भने थोक्मेको सपनाको देश अमेरिकामा नै रोकिन बाध्य बनायो । कोभिड १९ को कब्जामा जकेडिएको अमेरिकामा घर फर्कने सपना बुन्दै बसेका थेक्मे पनि अछुतो रहन सकेनन् । कोभिड १९ बाट बच्नकालागि उनले अनेकन प्रयासहरु गरेता पनि बिडम्बना थोक्मेलाई कोभिड १९ ले आफ्नो शिकार बनाएरै छाड्यो ।

अन्तत, बिष्टको चैत्र २१ गते शुक्रबार बिहान न्यूयोर्कस्थित आफ्नै कोठामा निधन भएको समाचार बाहिरियो । उनको निधनको खबर केवल उनका परिवार, आफन्तजन र साथीभाईहरुकालागि मात्र नभई सिंगो देशकै लागि निकै नै पिडादायक समाचार बन्न पुग्यो । २० वर्षदेखि अमेरिकामा एक्लै संघर्ष गरिरहेका थोक्मेले अमेरिकन नागरिक बन्नकोलागि कागजपत्र नबन्ने प्रायः निश्चित भएपछि पछिल्ला केही समयदेखि नै उनी नेपाल फर्किने योजना बनाइसकेका थिए ।

बिष्टका बारेमा उनै साथी छेपक दोर्जे गुरुङ भन्छन्, झण्डै दुईसाता अघि भेटेको थिएँ, अब म नेपाल जान्छु भन्थ्यो तर उसको सपना अधुरै रह्यो । बिष्टले बीचमा नेपाल जाने तयारी पनि नगरेका होइनन्, तर उनीसँग आफ्नो मुलुकको पासपोर्ट थिएन् । ट्राभल डकुमेन्ट बनाएर जाने पनि सोचले एक पटक न्यूयोर्कमा रहेको दूतावासमा पनि पुगेका थिए कुरा बुझ्नलाई । दोर्जेले थपे ।

सपनाको देशमा सुन्दर सपना बुन्दा बुन्दै उनी मुटु र फोक्सोको बिमार समेत भइसकेका थिए । उनका साथी दोर्जे सम्झन्छन्, ुधेरै वर्ष मेहेनत गरेको छु, अब नेपाल गएर परिवारका साथ सुखले बस्छु भन्थ्यो, तर दैवले उसको इच्छा चुँडेर लग्यो । बाणिज्यदूतावास न्यूयोर्कका कार्यबहाक महाणिज्यदूत पुष्पराज भट्टराईका अनुसार थोक्मेले बनाउनु पर्ने सबै डकुमेन्ट बनाई सकेका थिए ।

न्यूयोर्कको सन्नीसाइडमा दाजुभाउजुसँगै बस्दै आएका बिष्टलाई केहीदिन अगाडिदेखि रोगले च्याप्दै लगेको थियो । सुरुमा टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या देखियो । कोरोनाको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी नजिकैको अर्जेन्ट केयरमा गए । त्यहाँ सामान्य चेकजाँचपछि उनलाई घरमै बस्न सुझाइयो ।

तर अलिक गाह्रोजस्तो अनुभव भएपछि उनी स्थानीय माउन्ट सइनाई अस्पतालमा उपचारका लागि गए । त्यहाँ उनको चेकजाँच गरियो । र फोक्सोको एक्सरे समेत गरियो । एक्सरेपछि अस्पतालले फोक्सोमा केही समस्या रहेको बताएको थियो ।

थोक्मेको स्वास्थ्य अवस्था बुझेर त्याहाँको अस्पतालले उनलाई भर्ना गर्न नमानेपछि घरमै आराम गर्न सुझाव दियो । दुईचार दिनमा थप रिपोर्ट आइसकेपछि जानकारी गराउने अस्पतालले बताएको थियो । तर बिष्ट अस्पतालको रिपोर्ट नआउँदै यो संसारबाट कहिल्यै नर्फकने गरि सदाका लागि बिदा भएर गए ।

दैवको लिला पनि कति अचम्मको छ । जस्कालागि थोक्मेले रातदिन नभनेर मेहेनत गरी बसे आज तिनै परिवारको साथमा जीवनको अन्तिम सास पनि लिन पाएनन् थोक्मेले । श्रीमती र दुई छोराहरु छाडेर अमेरिका बसेका थोक्मे बिष्ट कागजपत्र बनाउने र पैसा कमाउने धुनमा लाग्दा लाग्दै यो संसारबाट बिदा भए । जीवनभर परिवारको सुखका लागि परदेशमा हड्डी खियाएका बिष्टले न आफ्नो श्रीमती र छोराहरु देख्न पाए नत उनका परिवारले उनलाई अन्तिम बिदाई नै गर्न पाए । यो सामग्री अन्नपुर्णपोष्टवाट लिइएको हो ।

फेसबुक प्रतिक्रियाहरु