काठमाडौं । सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ ।
स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो ।
बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सरकारले सो कम्पनीको ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको पनि बताए ।
महानिर्देशक श्रेष्ठले उत्तः कम्पनीले निर्धारित समयमा भनेबमोजिम सामान ल्याउन नसकेको भन्दै रिटेन्डर हुने पनि जानकारी दिए । उनका अनुसार ओम्नीले १० प्रतिशत मात्रै सामना ल्याएको थियो ।
श्रेष्ठले बिहीबार नयाँ प्रक्रिया शुरु हुने र जसले पाँच दिनभित्र ल्याउनसक्छ उसलाई दिने बताए । कोरोना नियन्त्रणका लागि चीनमा खरिद गरिएको सामाग्री उच्च मूल्यको रहेको भन्दै आलोचना भएपछि स्वास्थ्य मन्त्रालयलयले विश्वव्यापी रुपमै सामानको अभाव रहेकाले स्वास्थ्य सामाग्रीको मूल्य केही बढी भएको दाबी गरेको थियो ।
आइतबार मात्रै स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले नेपाललाई सामान दान दिने अलिबाबा लगायतकाको मूल्यसूची पनि पहिलाको भन्दा बढी भएको तर्क गर्दै नेपालले खरिद गरेको सामानमा कुनै बदमासी नभएको दाबी गरेका थिए ।
तर नेपालले खरिद गर्ने भनिएका सामग्रीको मूल्य अलिबाबालगायतकाले सहयोग गरेको सामानको मूल्यभन्दा पनि उच्च थियो ।