२०८१ माघ ११, शुक्रबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कलाई दुई साता लामो ‘लकडाउन’ गर्ने आफ्नो पूर्वनिर्णयबाट पछि हटेका छन् । राष्ट्रपति ट्रम्प न्युयोर्कलाई क्वारेन्टाइनमा राख्ने आफ्नो पूर्ववत् अडानबाट पछि हटेका हुन् । उनले लकडाउन समस्याको समाधान नभएको दाबी गर्दै आएका छन् । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भनेका छन्, ‘न्युयोर्कमा क्वारेन्टाइनको जरुरत छैन ।’ कोरोनाबाट न्युयोर्क सबैभन्दा बढी प्रभावित छ ।

न्युयोर्कका गभर्नरले राष्ट्रपतिको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । ट्रम्पले ट्विटमा भनेका छन्, ‘ह्वाइट हाउसको कोरोना भाइरस कार्यदलको सुझाब तथा न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यका गभर्नरसँगको परामर्शपछि मैले सिडिसीलाई कडा ट्राभल एड्भाइजरी (यात्रासम्बन्धी सल्लाह) जारी गर्न आदेश दिएको छु ।’

अमेरिकामा एक लाख २४ हजार संक्रमितमध्ये २४ हजार न्युयोर्कवासी छन् । संक्रमणबाट दुई हजारभन्दा बढीको मृत्यु भएको छ । यसैबीच, कोरोना भाइरस महामारीका कारण अमेरिकामा पहिलोपटक नवजात शिशुको मृत्युको घटना सार्वजनिक भएको छ । शनिबार अमेरिकाको सिकागोमा कोरोनाबाट संक्रमित शिशुको मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु