१० चैत, काठमाण्डौं । खाडीक्षेत्रका विभिन्न मुलुकका रोजगारदाताले नेपाली कामदारलाई फिर्ता लैजान दबाब दिन थालेका छन् । संसारभर फैलिएको कोरोना भाइरसका कारण धमाधम कम्पनी बन्द हुन थालेपछि युएईका आबुधाबी र दुबई तथा बहराइनका सेवा क्षेत्रका रोजगारदाताहरुले नेपाली म्यानपावर व्यवसायीलाई कामदार फिर्ता लैजान दबाब दिएको बैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
यी देशका आठवटा कम्पनीले कामदार फिर्ता लैजान नेपाली म्यानपावर व्यवसायीलाई पत्राचार गरिसकेका छन् । ती कम्पनीमा तीन सय ३६ नेपाली कामदार कार्यरत रहेको पनि सोमबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।
संघका महासचिव सुजित श्रेष्ठका अनुसार दुबईका इन्टरकन्टिनेन्टल होटलले एक सय २०, मिलेनियम एयरपोर्ट होटलले ४, ग्यान्ड कज्मोपोलिटन १९, र अरेबियन होटल ग्रुपले ७ नेपाली कामदारलाई फिर्ता पठाउन पत्राचार गरेको छ ।
त्यस्तै बहराइनको फोर सिजन होटलले ४८, आबुधाविको क्राउन प्लाजा होटलले ७८, आवुावि गल्फ क्लवले १२ र र्याडिसन होटलले ४७ कामदार फर्काउने भएको छ ।