काठमाडौं : नेपाल भ्रमण बर्षमा नेपाल घुम्न आएका आठ भारतीय पर्यटकको मृत्य भएको छ ।
मंगलबार बिहान मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका आठैजना भारतीय पर्यटकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ४ महिला र ४ पुरुष रहेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होबेन्द्र बोगटीले जानकारी दिएका छन । मकवानपुरको उत्तरी थाहा नगरपालिका ४ दामनस्थित एभरेष्ट होटलमा सोमबार बेलुका १५ जना भारतीय पर्यटक बसेका थिए । उनीहरुमध्ये मृत्यु हुने ८ जना एकै कोठामा सुतेका थिए ।
मृतक ८ जना बिहान अर्धचेत अवस्थामा भेटिएका थिए। उनीहरुलाई कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित ह्याम्स हस्पिटलमा ल्याइएको थियो ।
कोठाभित्र झ्याल ढोका थुनेर हिटर बालेर सुतेको अवस्थामा उनीहरुलाई भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक गणेश थापाले जानकारी दिएका छन् ।
दुईजना बस्नुपर्ने कोठामा आठजना बसेको कारण अक्सिजनको अभावमा अचेत भएको हुनसक्ने थाहा नगर होटल ब्यवसायी संघका अध्यक्ष शिवराम खत्रीले बताए । १५ जनाको समूहमा दामान पालुङ घुम्न आएको भारतीय नागरिकमध्ये एउटा कोठामा सातजना अर्कोमा ८ जनाले रात बिताएका थिए ।