काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र सम्बन्ध समग्र मुलुकको साझा सरोकारको विषय भएको चर्चा गर्दै राष्ट्रिय सहमति र समान अवधारणाका साथ परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने बताएका छन ।
मुलुकको परराष्ट्र नीतिका प्राथमिकताहरूलाई समयानुकूल समायोजन गर्ने र परराष्ट्र नीतिका मूलभूत विषयहरूमा देशभित्र साझा, व्यवहारपरक एवं स्पष्ट दृष्टिकोण तयार पार्ने उद्देश्यले शनिबार राजधानीमा आयोजित ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद’ विषयको छलफलमा उनले विदेश नीतिमा सबै दलको मतैक्यता हुनुपर्ने बताए ।
प्रधानमन्त्रीले भने,“मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्रा्ष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ हाम्रो विदेश नीति केन्द्रित छ ।”
“राष्ट्रलाई विकास–निर्माणको बाटोमा डो¥याउन हाम्रा एक्ला प्रयास पर्याप्त छैनन्, मित्रहरूको साथ र सहयोग चाहिन्छ, बाह्य लगानी एवं प्रविधि भित्र्याएर लक्ष्य हासिल गर्न सकिन्छ,” ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आवश्यक पर्ने बाह्य सहायताको महत्व दर्शाउँदै उनले अनुदान र ऋण नभई लगानी ल्याउन देशको कूटनीति परिलक्षित हुनुपर्नेमा जोड दिए ।
नेपालका आवश्यकता र प्राथमिकताका क्षेत्रमा लगानी आकर्षण गर्नु अपरिहार्य भएको विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिको केन्द्रमा राष्ट्रिय हित रहेको तथा संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्रा्ष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको नेपालले पूर्ण परिपालना गरिरहेको बताए ।
सन्तुलित छिमेक सम्बन्ध
नेपाललले दुवै छिमेकीसँग अत्यन्त सन्तुलित सम्बन्ध कायम गरेको तथा नीति पनि तद्नुरुप नै अवलम्बन गरेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले छिमेकमा कतैपनि तनाब नहोस् भन्ने चाहेको बताए ।
“छिमेकीसँगको सम्बन्ध सङ्लिएको छ, थिति बसेको छ, हाम्रो सम्बन्धका थुप्रै विषयमा पुनरावलोकन भएका छन् र भइरहेका पनि छन,” बहुपक्षीय एवं अन्तर्रा्ष्ट्रिय मञ्चहरूमा छिमेकका सरकार प्रमुखसँग भएका औपचारिक एवम् अनौपचारिक छलफलबारे जानकारी दिँदै प्रधानमन्त्रीले भने ।
इपिजी प्रतिवेदन प्रस्तुतिको वातावरण बन्छ
नेपाल र भारतबीच सन् १९५० भएको शान्ति तथा मैत्री सन्धि तथा त्यसयता भएका सबै असमान सन्धि सम्झौतालगायत द्विपक्षीय सम्बन्धका समग्र विषयलाई समेटेर सुझावसहितको प्रतिवेदन तयार पार्न दुवै देशका प्रबुद्ध व्यक्ति सम्मिलित समूह ९इपिजी०को प्रतिवेदन प्रस्तुतिको वातावरण शीघ्र तयार हुनेमा आफू ढुक्क रहेको प्रधानमन्त्रीले बताए ।
इपिजीले प्रशंसनीय काम गरेको भन्दै उनले प्रतिवेदनको प्रस्तुतिपछि त्यसमा उल्लिखित विषयलाई कार्यान्वयनको चरणमा लगिने जानकारी दिए ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घरेलु नीतिको विस्तारित रुप नै देशको परराष्ट्र नीति भएको बताउँदै बदलिँदो परिवेशमा राष्ट्रिय हित संरक्षण एवम् प्रवद्र्धनका साथ कूटनीति सञ्चालन भइरहेको बताए ।
परराष्ट्र सचिव शङ्करदास वैरागीले बाहिरी विश्वसँग कुनै पनि मुलुकले राख्ने सम्बन्ध, त्यसको उद्देश्य र आधार सो मुलुकको परराष्ट्र नीतिद्वारा निर्दे्शित हुन्छ भन्दै अन्तर्रा्ष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन परराष्ट्र मन्त्रालय इमान्दारीका साथ लागिपरेको बताए ।
एक दिवसीय उक्त राष्ट्रिय संवादमा ‘परिवर्तित भूराजनीति–छिमेक तथा प्रमुख शक्ति राष्ट्रहरू, आर्थिक कूटनीति अभिमुखीकरण एवम् प्राथमिकताहरू, क्षेत्रीय तथा बहुपक्षीय मामिला तथा नवीनतम चुनौतीहरू ः जलवायु परिवर्तन तथा श्रम आप्रवास’ विषयमा गहन छलफल भइरहेको छ ।