२०८३ भदौ ७, आइतवार
  • Pramesh Tamu ११ घण्टा अगाडि

बहराइन — तमु समाज बहराइनको अध्यक्षमा राजु गुरुङ पुनः सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबार, २१ अगस्ट २०२६ मा सम्पन्न संस्थाको १०औँ महाधिवेशनले गुरुङलाई पूर्ण दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।

पहिलो कार्यकाल सफलतापूर्वक पूरा गरेका गुरुङलाई निरन्तरता दिन महाधिवेशनका सहभागी तमु–तमुस्योहरूले सर्वसम्मत समर्थन जनाएका थिए। उनको पुनर्निर्वाचनलाई संस्थाप्रति देखाएको सक्रियता, कुशल नेतृत्व तथा समुदायले राखेको विश्वास र भरोसाको सम्मानका रूपमा लिइएको छ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित अध्यक्ष गुरुङको नेतृत्वमा नयाँ कार्यसमितिले बहराइनमा रहेका तमु समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। साथै, तमु समुदायको मौलिक भाषा, धर्म, संस्कार, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनसँगै सामाजिक सेवाका क्षेत्रमा थप प्रभावकारी र उदाहरणीय कार्य गर्ने विश्वास व्यक्त गरिएको छ।

अध्यक्ष गुरुङले दोस्रो कार्यकालमा संस्थालाई थप व्यवस्थित र सक्रिय बनाउँदै नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई विभिन्न संघसंस्था, शुभेच्छुक तथा तमु समुदायका सदस्यहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, निवर्तमान कार्यसमिति, निर्वाचन समिति, महाधिवेशन आयोजक समिति तथा सम्पूर्ण तमु–तमुस्योहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

तमु समाज बहराइनले आगामी दिनमा एकता, सहकार्य र सामूहिक भावनाका साथ समुदायको हकहित, भाषा–संस्कृतिको संरक्षण तथा सामाजिक सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु