काठमाडौँ — कांग्रेस संस्थापनइतरका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्नुपर्ने बताएका छन् ।
ठूलो दलको हैसियतले कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने कोइरालाको अभिव्यक्तिले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैलाई सशंकित बनाएको छ । सत्ता गठबन्धनका मुख्य नेताहरूको स्वार्थका कारण भ्रष्टाचार काण्डको अनुसन्धानले गति लिन नसक्दा आम जनतामा निराशा बढाएको, कोशी प्रदेशमा दुई–दुई पटक सरकार गठनमा असंवैधानिक कदमलाई साथ दिएको, प्रधानमन्त्रीले जातीय मुद्दा उठाएर समाजलाई द्वन्द्वतिर धकेल्न खोजेको लगायत आरोप लगाउँदै कोइरालाले सरकारको नेतृत्व बदल्नुपर्ने सार्वजनिक धारणा व्यक्त गरेका हुन् ।
संसद्मा हामी ८८ सांसद छौं, नौ जना मन्त्री नै छौं तर तपाईंहरूलाई लागिरहेको होला, हाम्रा मन्त्रीहरूले काम गरिरहनुभएको छ भनेर । मन्त्रीजीहरूले केही गर्नै सक्नुभएको छैन । संसदीय प्रणालीमा प्रधानमन्त्रीबाहेक अरू मन्त्रीहरूको कुनै रोल हुन्न, यो बुझ्न जरुरी छ । प्रधानमन्त्री र मुख्यमन्त्री बसेर निर्णय गरेपछि त्यही निर्णय सदर हुन्छ,’ गत शनिबार चितवन कांग्रेसको जिल्ला सम्मेलनमा पहिलोपल्ट दाहाल सरकारको विकल्प खोज्नुपर्ने बताउँदै कोइरालाले भनेका थिए, ‘त्यसकारण अब कांग्रेसको नेतृत्वमा सरकार बन्नु जरुरी छ । अनि मात्रै हामी अगाडि बढ्न सक्छौं ।’ चितवनपछिका सार्वजनिक मञ्चहरूमा पनि कोइरालाले यही धारणा दोहोर्याउँदै आएका छन् ।
पछिल्लो समय देउवासँग उनको दूरी बढ्दै गइरहेको छ । तर पार्टी र संसदीय दलमा देउवाको बलियो घेरा तोडेर आफैं आउने सम्भावना देखिँदैन । आफ्नो प्रतिकूल अवस्थाका बाबजुद पनि कोइरालाले गठबन्धनभित्रै संशय पैदा गराउने गरी सरकारको नेतृत्व बदल्ने कुरा किन गरिरहेका छन् त ? केन्द्रीय सदस्य प्रदीप पौडेल गठबन्धनको नेतृत्व बदल्दा सभापति देउवालाई मन्त्रीका आकांक्षीहरूलाई व्यवस्थापन गर्न गाह्रो हुने र त्यसले आफूलाई सहज हुने ठानेर कोइरालाले नेतृत्व बदल्ने कुरा गरेको हुन सक्ने अनुमान गर्छन् । तर, सभापतिले नचाहेसम्म तत्काल गठबन्धन परिवर्तन हुने वा यही गठबन्धनमा नेतृत्व बदल्ने सम्भावना नभएको उनको बुझाइ छ ।
उनका अनुसार कोइरालाले मात्रै होइन, जीवनभर नै शक्तिमा रहने स्वार्थ हेरेरै देउवाले पनि राजनीतिक गोटी चालिरहेका छन् । कोइरालाको अभिव्यक्तिले सशंकित बनाए पनि तत्काल दाहाल सरकारको विकल्प खोज्न देउवा तयार नहुने उनको बुझाइ छ । देउवाले पार्टी महाधिवेशनको मुखमा प्रधानमन्त्री बनेर श्रीमती आरजुलाई पार्टीमा स्थापित गराउने र त्यतिबेलासम्म प्रधानमन्त्री दाहाललाई विश्वासमा राख्ने देउवाको योजना रहेको ती नेताको बुझाइ छ ।