काठमाडौँ : कोरोना भाइरसका कारण यसपाली बेलायत सरकारले ब्रिगेड अफ गोर्खाज र सिंगापुर पुलिसका निम्ति साबिकको कोटामा फेरबदल गरेको छ ।
बेलायत सरतारले यस पटक ब्रिटिस आर्मीमा ३ सय ४० र सिंगापुर पुलिस फोर्समा १ सय ४० जना मात्र भर्ती गर्ने भएको छ । ब्रिटिस आर्मी मुख्यालयले मंगलबार आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त जामकारी दिएको हो ।
गत वर्ष ब्रिटिसमा ४ सय ३२ र सिंगापुरमा २ सय २० भर्ती लिइएको थियो । कोरोना महामारी फैलिएपछि गत वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये सीमित युवालाई मात्र मौका दिइने मुख्यालयले यसअघि जनाउ दिइसकेको छ ।
‘ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसका सम्भावित रेक्रुटहरू, कोरोना भाइरसको अवस्था नेपालमा मात्र नभएर संसारभरि नै अनिश्चित छ,’ ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइटमा भनेको छ, ‘जसले गर्दा हाम्रो छनोट प्रक्रियामा बाधा हुन सक्ने सम्भावना छ । अति नै संकटकालीन अवस्था आइपरेमा यो वर्षको छनोट नहुन पनि सक्छ । तर छनोट भएमा हामी सक्दो सुरक्षित ढंगबाट यो छनोट प्रक्रियालाई सञ्चालन गर्ने प्रयास गर्नेछौं ।’ छनोटका निम्ति ब्रिटिस आर्मीका लागि ५ सय ६० जना सम्भावित रेक्रुटलाई बोलाएर तीमध्ये ३ सय ४० जनालाई छनोट गर्ने विज्ञप्तिमा भनिएको छ । सिंगापुर पुलिसका लागि २ सय १० जना सम्भावित रेक्रुटलाई बोलाएर त्यसमध्येबाट १ सय ४० जनालाई छनोट गर्ने जनाइएको छ ।