नेपाल इन्स्योरेन्सले सभा सम्पन्नका साथै गर्‍यो लाभांश पारित

नेपाल इन्स्योरेन्सले सभा सम्पन्नका साथै गर्‍यो लाभांश पारित: देशमा कोरोना संक्रमणका कारण जारी लकडाउनका बिच नेपाल इन्स्योरेन्सले शुक्रवार ७१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

यसअघि चैत २१ गतेका लागि तय भएको यो सभा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो । आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण पुस मसान्तभित्रै गरिसक्नुपर्नेमा कम्पनीले चैतमा सभा बोलाएको थियो । कोरोना संक्रमणका कारण प्रभावित बनेको सभा लकडाउन खुकुलो भएसँगै सम्पन्न गर्न कम्पनी सफल भएको छ ।

विशेष सुरक्षा अपनाएर कम्पनीले आफ्नै पुरानो भवन कमलादी, काठमाडौंमा सभा सम्पन्न गरेको हो । थोरै जनाको मात्र उपस्थितिमा सम्पन्न भएको सभामा शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्समार्फत सहभागी गराई आफ्नो प्रतिक्रिया तथा सुझाव राख्न दिईएको थियो ।

यस कम्पनीले सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने योजना बनाई सभा मार्फत उक्त योजना कम्पनीको प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले चैत ४ गतेदेखि बुक क्लोज गरेकाले त्यस दिनभन्दा अघिल्लो दिन शेयर कारोबारमा कायम शेयरधनीहरु मात्र लाभांश पाउन योग्य भएका छन् । कम्पनीले सभामार्फत प्रस्तावित ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ८९ प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५५ लाख ३६ हजारको आधारमा लाभांश दिएको हो । ५ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ३ लाख १३ हजार पुग्नेछ । बोनस पश्चात कम्पनीको चुक्तापूँजी बढ्ने भएकाले सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

यस कम्पनीले निर्जीवन बीमा कम्पनीले पुर्‍याउनुपर्ने चुक्तापूँजी कायम गरिसके पनि बोनस शेयरलाई यस वर्ष पनि जोड दिएको छ । नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. १३ करोड ४० लाख ८४ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ३४ करोड ५८ लाख ४५ हजार कायम भएको छ ।  यो तेस्रो त्रैमाससम्म रू. ८५ करोड ८९ लाख ८० हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले रू. १७ करोड ७४ लाख ६७ हजार दाबी भुक्तानी गरेको छ ।

कम्पनीको बीमा कोष रकम रू. ३६ करोड ४७ लाख १० हजार कायम भएको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ६ हजार ६०३ ओटा बीमालेख नविकरण गरेको छ भने १ लाख १६ हजार ९४४ ओटा बीमालेख जारी गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ३२ र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ८६ रहेको छ ।

साभार: अभियानदेली

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *